• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राष्ट्रिय सभाका सदस्यद्वारा सप्तरीका नदिहरुको स्थलगत अवलोकन अभियान सुरु

राष्ट्रिय सभाका सदस्यद्वारा सप्तरीका नदिहरुको स्थलगत अवलोकन अभियान सुरु

राजविराज, १२ भदौ। राष्ट्रिय सभाका सदस्य शेखरकुमार सिंहले सप्तरीका विभिन्न नदिहरुको स्थलगत अवलोकन अभियान सुरु गरेका छन् । बर्सेनी बाढीजन्य प्रकोपको कारण स्थानीयवासीले भोग्दै आएको समस्या समाधानमा पहल गर्ने उदेश्यले यो अभियान सुरु गरिएको हो।

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार समन्वय समितिका सदस्य समेत रहेका सिंहले शुक्रवार सप्तरीको सप्तकोशी नगरपालिका स्थित त्रियुगा, मयुरानी, बन्द्राहा, अमाहा, गंगाजली लगायतका दर्जनबढी नदीहरुको अवलोकन गरे।
खोलाको वाढिका कारण हुँदै आएको समस्या वुझन सिंहसहितको एक टोलीले स्थलगत अवलोकन गरेको हो । कमजोर तथा कम उचाईको बाँधका कारण त्रियुगा नदीको बाढीले सप्तकोशी नगरपालिकाको फत्तेपुर, बोचही, ओद्राहा लगायत आधा दर्जन वढि वडामा डुबान र क्षती पुर्याउदै आएको छ ।

टोलीलाई सप्तकोशी नगरपालिकाका मेयर उत्तमकुमार शर्मा तथा वडाअध्यक्षहरुले नदीहरुको कारण उत्पन्न समस्याहरुको बारेमा जानकारी गराए।

सांसद सिंहले कोशी क्षेत्रको जनताको पीडालाई आफूले संसदमा उठाउँदै आएको र अझ बलियो ढंगले प्रस्तुत गरी सम्बोधन गराउन स्थलगत अवलोकन निरीक्षण अभियान सञ्चालन गरेको जानकारी गराए ।

सप्तकोशी नदीको कारण उत्पन्न समस्याको समयमै भारत सरकारबाट सम्बोधन हुनुपर्ने जिकीर गर्दै साँसद सिंहले भारतको कुनौलीदेखि उदयपुरको बेलका नगरपालिकासम्मको कोशीको पश्चिमी तटबन्धलाई मजबुत पार्नुपर्नेमा जोड दिए।
कोशी नदीको कारण पनि सप्तकोशी, कञ्चनरुप, हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका प्रभावित बन्दै आएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका, तिरहुत गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा महुली खोलाले समस्या उत्पन्न गर्ने गरेको छ ।

महुली खोलाले गरेको कटान गरेको क्षेत्रको समेत साँसद सिंह तथा पूर्व साँसद सूर्यनाथ प्रसाद यादवसहितको टोलीले अवलोकन गरेको छ । टोलीले सप्तकोशी र कञ्चनरुप तथा तिरहुत गाउँपालिकाका मेयर/अध्यक्षहरुसँग छलफल गरेको थियो । टोलीमा पूर्व साँसद सूर्यनाथ प्रसाद यादव, जसपाका जिल्ला अध्यक्ष केदार यादव, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह सहभागी थिए।