राजविराज, ३१ साउन । सप्तरीको सप्तकोशी नगरपालिका स्थित वलार्दहमा रहेको पावर ट्रान्सफर्मरमा समस्या आउँदा त्यस क्षेत्रको विद्युत सेवा शुक्रवार रातीदेखि नै अवरुद्ध भएको छ । ट्रान्सफर्मरमा आएको खरावीले सप्तरी र उदयपुरका करिव २५ हजार विद्युत उपभोक्ता प्रभावित भएका छन् ।
शुक्रवार रातीदेखि अवरुद्ध भएको विद्युत शनिवार साझसम्म पनि नआएको फत्तेपुरका नरेश आचार्यले वताए । नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्रले भने ट्रान्सफर्मर मर्मतको प्रयास भईरहेको जनाएको छ । सिरहाको लहानवाट प्राविधिक लिएर जाँदै गरेको र मर्मतको प्रयास भईरहेको वितरण केन्द्रका प्रमुख रोशनकुमार सिंहले वताए ।
एक माथि अर्को समस्या थपिदै गएकाले विद्युत अवरुद्ध भएको उनको भनाई छ । शनिवार विहान महुली खोलामा ३३ हजार भोल्ट प्रसारण लाईनको पोल लडेका कारण करिव ३ वजेसम्म विद्युत अवरुद्ध भएको र पोलको समस्या समाधान भएपछि ट्रान्सफर्मरमा समस्या आएको सिंहले जानकारी दिए । ‘हामी विहानै देखि पोल खडा गर्न लाग्यौ, करिव ३ वजे काम सकियो’ उनले भने–‘लगत्तै पावर ट्रान्सफर्मरमा समस्या देखिएपछि अहिले प्राविधिक लिएर जाँदैछौं। पुग्न वाँकी छ ।’
सामान्य समस्या भए तत्कालै विजुली आउने र ठुलै खरावी भए वैकल्पीक ब्यवस्थामा लाग्नु पर्ने उनले वताए । ‘सामान्य समस्या भए तत्कालै आउँछ, ठुलै समस्या भए अर्को विकल्प खोजेर पनि विद्युत सुचारु गर्छौ’– उनले भने।
कञ्चनपुर वितरण केन्द्र मार्फत महुली–कञ्चनपुर–फत्तेपुर हुँदै उदयपुरको वेल्टार र रामपुरसम्म विद्युत संचालनमा रहेको जानकारी दिएका उनले सप्तरीका १२ हजारसहित दुवै जिल्लाका करिव २५ हजार उपभोक्ता प्रभावित भएको वताए ।
‘ठुलै समस्या भए मौलितर्फ रुपनीवाट, कञ्चनपुर–फत्तेपुरलाई भारदहवाट र उदयपुरतर्फ चतरावाट विद्युत संचालनका लागि प्रयास गर्छौ’ उनले थपे–‘सामान्य समस्या भए हाम्रै ट्रान्सफर्मरवाट विद्युत संचालन हुन्छ ।’