वृजमान तामाङ्ग
विरेन्द्रवजार, ३० साउन । सप्तरीको कंचनरुप नगरपालिका–९ काष्ठमहल स्थित किराना पसलमा चोरी गर्दै गरेका एक युवक गएराती रङ्गेहात पक्राउ परेका छन् ।
स्थानीय भुपेन्द्रप्रसाद देवको किराना पसलमा चोरी गर्दै गर्दा सिरहाको लहानका १९ वर्षिय सशान्त परियार पक्राउ परेका हुन् । परियारलाई स्थानीयवासीले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन् । उनी कञ्चनरुप नगरपालिका ९ स्थित मामाको घरमा बस्दै आएका थिए ।
राती करिव ९ बजे किराना पसलमा चोरी भएको थियो । चोरीमा परियारसहित ३ जना संलग्न भएपनि अन्य दुई जना फरार छन् । कट्घरामा लगाएको ताला फोडेर सामान निलाल्दै गर्दा स्थानीयले थाहा पाइ हल्ला गरेको र गाउँले जम्मा भएर परियारलाई नियन्त्रणमा लिएको स्थानीय ढकनारायण साहले बताए ।
अन्य दुई जना चोर समात्ने क्रममा स्थानीय सितल साह र संतोष प्रसाद साह सामान्य घाईते भएका छन् । उनीहरुले १० तोला चाँदी, चारआनाको सुनको औँठी, नगद र किराना सामान गरी करिव ६० हजार भन्दा बढिको चोरी गरेको देवको भनाई छ।
‘पसलवाट आवाज आएपछि हेर्दा चोर्दै गरेको देखियो, हामीले हल्ला गरेपछि गाउँलेहरुको राम्रै जमघट भयो’ स्थानीय अनिता दासले भनिन्–‘एक जनालाई त घेरा हालेर पक्राउ गरियो, अन्य दुईजना भागे।’
चोर समातिएपछी प्रहरीलाई जिम्मा लगाउने क्रममा प्रहरीमाथी पनि जाईलागेको स्थानीयले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेशकुमार सिंहले परियारलाई रातिनै नियन्त्रण लिई अनुसन्धान सुरु गरिएको वताए । उनी विरुद्ध चोरी र कुटपिटको उजुरी पनि आएको सिंहको भनाई छ।

