राजविराज, २७ साउन । कोरोना संक्रमणका कारण सप्तरीमा थप एक वृद्धको मृत्यु भएको छ । योसँगै सप्तरीमा कोरोनाका कारण मर्नेको संख्या तीन पुगेको छ ।
मंगलवार साँझ डाकनेश्वरी नगरपालिका ८ का ७९ वर्षिय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । उनी राजविराज ६ स्थित सिरहा रोडमा वसोवास गरिरहेका थिए ।
३/४ दिनअघि ज्वरो आएका कारण उनलाई अस्पताल पुर्याएको थियो । सोहि क्रममा अस्पतालले स्वाव कलेक्सन गरी जाँच गराउँदा मंगलवार साँझ कोरोना पोजेटिभ देखिएको थियो । लगत्तै उनलाई आईसोलेसनमा लैजाने क्रममा वाटोमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
उनी मुटु, थाइराइड, सुगर, उच्च रक्तचाप लगायतका समस्यावाट पीडित रहेको जनाईएको छ।
यसअघि साउन २० गते राती रुपनी गाउँपालिका ५ गढियाका ४५ बर्षीय पुरुषको कारोनाका कारण मृत्यु भएको थियो । स्वासप्रस्वासमा समस्या वढेपछि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरिएका उनलाई थप उपचारका लागि धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएपछि मृत्यु भएको थियो ।
यसअघि साउन १ गते राजविराज ६ का ७३ वर्षिय ब्यापारीको कोरोनाका कारण मृत्यु भएको थियो । स्वासप्रस्वास लगायतका विभिन्न समस्या देखिएपछि विराटनगर हुँदै उनलाई धरान पुर्याईएको थियो । कोरोना रिपोर्ट पोजेटिभ देखिएको ३ घण्टा नवित्दै उनको मृत्यु भएको थियो । करिव दुई साताअघि उनी भारतको दरभंगावाट फर्किएर होम क्वारेन्टाईन भन्दै ब्यापारमा संलग्न थिए ।