• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा मृत्यु भएका तीन जनाको पिसिआर रिपोर्टः एकको पोजेटिभ, दुईको नेगेटिभ

सप्तरीमा मृत्यु भएका तीन जनाको पिसिआर रिपोर्टः एकको पोजेटिभ, दुईको नेगेटिभ

राजविराज, २१ साउन । सप्तरीमा गएराती मृत्यु भएका तीन मध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुई जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

रुपनी गाउँपालिका ५ का ४५ बर्षीय पुरुष, राजगढ गाउँपालिकाका ७१ बर्षीय पुरुष र मा डाक्नेश्वरी नगरपालिका ९ का ७४ बर्षीय पुरुषको गएराती मृत्यु भएको थियो । मिल्दो लक्षण देखिएका कारण तीनै जनाको मृत्यु कोरोनाका कारण भएको आशंका गरिएको थियो ।

तर, तत्कालै स्वाव परिक्ष गर्दा रुपनी – ५ का ४५ वर्षिय पुरुषको रिपोर्ट पोजेटिभ र अन्य दुई जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

रुपनी गाउँपालिका ५ गढियाका ४५ बर्षीय पुरुष डेढ महिना अघि मलेसियावाट फर्किएका थिए । गाउँपालिकाले उनलाई पिसिआर परिक्षण गर्न भनेपनि अटेर गर्दै आएका थिए । राजविराजमा गराउँछु भनेपनि उनले परिक्षण नै नगराई घरमै वसेको गाउँपालिका अध्यक्ष हरेराम यादवले जानकारी दिए ।

पछिल्लो समय ज्वरो, दम लगायतका समस्या देखिएपछि उनले नजिकैका मेडिकल पसलमा जाने र औषधी किनेर खाने गर्दै आएका थिए । दुई दिन अघि स्वासप्रस्वासमा समस्या वढेपछि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएपछि उनको मृत्यु भएको गाउँपालिका अध्यक्ष यादवले वताए । परिवारका सदस्यले घरमा ल्याएर शव ब्यवस्थापनको तयारी गरिरहेका वेला गाउँपालिकाले नै हस्तक्षेप गरी स्वाव परिक्षण गराएको थियो । परिक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

स्वास्थ्य कार्यालयले उनको परिवारको स्वाव परिक्षणको तयारी गरेको छ भने सवैलाई होम क्वारेन्टाईनमा राखेको छ ।

यसैगरी, राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारकै क्रममा मृत्यु भएका राजगढ गाउँपालिकाका ७१ बर्षीय पुरुष र डाक्नेश्वरी नगरपालिका ९ का ७४ बर्षीय पुरुषको रिपोर्ट नेगेटिभ आएको यादवले वताए । उनीहरुको पनि आजै स्वाव संकलन गरी परिक्षण गरिएको थियो ।

यो सँगै सप्तरीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ भने कोरोना संक्रमितको संख्या ५४० पुगेको छ। यसअघि गत साउन १ गते राजविराज ६ का ७३ वर्षिय ब्यापारीको कोरोनाका कारण मृत्यु भएको थियो । स्वासप्रस्वास लगायतका विभिन्न समस्या देखिएपछि विराटनगर हुँदै उनलाई धरान पुर्याईएको थियो । कोरोना रिपोर्ट पोजेटिभ देखिएको ३ घण्टा नवित्दै उनको मृत्यु भएको थियो । करिव दुई साताअघि उनी भारतको दरभंगावाट फर्किएर होम क्वारेन्टाईन भन्दै ब्यापारमा संलग्न थिए ।