राजविराज, २१ साउन । सप्तरीमा कोरोना भाईरससँग मिल्दो लक्षण भएका तीन जनाको मृत्यु भएको छ । रुपनी गाउँपालिका ५ का ४५ वर्षीय पुरुष, राजगढ गाउँपालिकाका–७१ वर्षीय पुरुष र डाकनेश्वरी नगरपालिका–९ का ७४ वर्षीय पुरुषको मृत्यु भएको हो ।
रुपनी गाउँपालिका ५ का ४५ वर्षिय पुरुष एक/डेढ महिनाअघि मलेसियावाट फर्किएर घरमै वसेका थिए । यसैविचमा उनलाई ज्वरो र दमको समस्या देखिएपछि मंगलवार राजविराज ल्याईएको थियो ।
गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार हुन नसकेपछि सुनसरीको धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाने क्रममा उनको मृत्यु भएको गाउँपालिका अध्यक्ष हरेराम यादवले वताए । ‘कोरोनाको लक्षण देखिएपछि हामीले पहिला नै उनलाई चेक गराउन प्रयास गरेका थियौ’ उनले भने–‘राजविराजमै गराउँछु भनेपछि हामीले छोड्यौ। तर उसले चेक गराएन।’ ज्वरो आउन थालेपछि क्लिनिकवाट औषधी खाँदै गरेकोसम्म आफुहरुले जानकारी पाएको यादवले वताए ।
परिवारका सदस्यले धरानवाट फर्काएर शव जलाउने तयारी गरिरहको अवस्थामा आफुले रोकेको र स्वाव परिक्षणको ब्यवस्था मिलाएको उनले जानकारी दिए । ‘परिवारका सदस्यहरु अहिले पनि कोरोना छैन भनेर ठोकुवा गरिरहेका छन्, तर लक्षण हेर्दा हामीलाई शंका छ’ उनले थपे–‘स्वास्थ्यकर्मीहरु वोलाएका छौं। स्वाव संकलन भईरहेको छ ।’
स्वाव संकलनको काम सम्पन्न भएपछि शव जलाउन दिईने उनले वताए ।
यसैगरी, ज्वरो र श्वासप्रश्वासकै समस्या भएर साउन १५ गते राजविराज स्थित छिन्नमस्ता अस्पतालमा भर्ना भएका राजगढ गाउँपालिकाका–७१ वर्षीय पुरुष र डाकनेश्वरी नगरपालिका–९ का ७४ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनीहरुको गएराती मृत्यु भएको जनाईएको छ ।
तीन जनाको स्वाव संकलन गरिसकेपछि मात्रै अन्तिम संस्कारको अनुमति दिईने जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।