Top_Header_Right_Add

काम भन्दा नेताको सामिप्यताको आधारमा जिम्मेवारी पाउने खतरनाक रोग नेकपामा सल्कियोः नेता यादव

‘नेताहरूको दरवारमा हाजिर लगाउनै पर्ने, नौकरशाही केन्द्रियता मान्नै पर्ने बाध्यतात्मक स्थितिको अन्त्य कहिले हुन्छ ?’
काम भन्दा नेताको सामिप्यताको आधारमा जिम्मेवारी पाउने खतरनाक रोग नेकपामा सल्कियोः नेता यादव

राजविराज, १७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य सुमनराज प्याकुरलले दुई दिनअघि राजविराजमा पत्रकार सम्मेलन गरेर केपी ओली नेतृत्वको सरकार हरेक दृष्टिकोणले सफल भएको वताएका थिए । तर, त्यसको दुई दिन नवित्दै सोहि पार्टीका नेता उमेश कुमार यादवले ‘सरकार दिन प्रतिदिन अलोकप्रिय हुँदै गएको’ भन्दै पार्टीका शिर्ष नेताहरुका नाममा सार्वजनिक अपिल नै जारी गरेका छन् ।

साउन १५ गते आयोजना गरिएको पत्रकार सम्मेलनमा वोल्दै नेता प्याकुरलले सरकारले राम्रो काम गरिरहेको तर सकारात्मक कामको उजागर भन्दा पनि आलोचनाका समाचार वढि आएकाले समाचार सम्प्रेणमा ध्यान दिन आग्रह गरेका थिए ।

राष्ट्रिय सभा सदस्य समेत रहेका उनले गाउँगाउँमा विकास निर्माणका काम भईरहेको, कोरोना ब्यवस्थापनमा नेपाल दक्षिण एसियामै सफल राष्ट्रका रुपमा रहेको तथा अवका केहि वर्ष भित्रै स्थानीय तहले गाउँमा विकास निर्माण गर्न ठाउँ नै नपाउने वताएका थिए । ‘केहि समय भित्र गाउँमा सडक निर्माण लगायत सानातिना काम सकिन्छन्’ उनले भनेका थिए–‘त्यसपछि जनताले सोध्ने भनेको चिन र भारतवाट रेल किन आएन, हाम्रो पानी जहाज किन चलेन भन्ने खालका प्रश्न मात्रै हुन्।’

यता, पुर्वमन्त्री समेत रहेका यादवले शनिवार सामाजिक संजाल मार्फत सार्वजनिक गरेको अपिलमा सरकारप्रति जनताको असन्तुष्टि वढेको, सरकार दिन प्रति दिन अलोकप्रिय हुँदै गएको, जनसरोकारका मुद्दाहरुलाई सरकारले गम्भीरतापूर्वक नलिएका कारण स्थिति असहज बन्दै गएको, निश्चित गुटको सिफारिसमा मात्रै सरकारका बिकास निर्माण र लाभका जिम्मेवारी दिने कार्यले पार्टीको स्थिति स्थानीय स्तरसम्म भताभुङ्ग र कार्यकर्तासहित जनतामा चरम निराशाको स्थिति रहेको उल्लेख गरको छन्।

‘समाजवादलाई देखाउने दाँत र साम्राज्यवादी पूंजीवादीको ब्यबहारिक अभ्यासले पार्टीको कार्यदिशा र संबैधानिक दिशानिर्देश समेतको सरकारद्वारा खिल्ली उडाउने कार्य भईरहेको छ। पार्टीको हालको गतिविधि तथा सरकारको क्रियाकलापलाई कुनै पनि हालतमा कम्युनिस्ट पार्टी त के सामान्य बामपंथी को काम हो भन्न सकिने स्थिति छैन’ उनले भनेका छन्–‘बरु भाइ कांग्रेसबाट दाइ कांग्रेसमा पदोन्नति हुन लागेको हो कि ? भन्ने प्रश्न उब्जन थालेको छ।’

यसैगरी, पार्टीको जनाधार खस्कदै गएको, पार्टीका सङ्गठनहरु निस्क्रिय र नेताकार्यकर्ताहरुले राजनैतिक एवम साङ्गठनिक काम नपाएको तथा कसैलाई पद माथी पद र कसैलाई कमिटी बिहिनताको स्थिति आएको उनले जनाएका छन् । ‘पार्टीमा काम/कमिटीका आधारमा होइन कि उपल्लो नेताको सामिप्यताको आधारमा जिम्मेवारी पाउने खतरनाक रोग सल्केको छ’ उनले भनेका छन्–‘प्रतिकुल परिस्थितिमा क्रान्तिलाई अगाडि बढाउन सकिन्छ भन्ने उदाहरण जनयुद्धले स्थापित गरिसकेको स्थितिमा अब सर्वहारा जनवाद र जनताको जनवाद प्राप्त गर्न सरकार र पार्टीको के भुमिका रह्यो ?’

पार्टी र सरकारमा उपल्लो जातीय अहंकार तथा उच्च बर्गको दबदबा बढेको भन्दै उनले प्रश्न गरेका छन्–‘२१औं शताब्दीमा जनवाद, माओवाद, जवज सबैले साम्राज्यवादको बिरोध र प्रतिरोध गर्न प्रेरित गर्दछ। तर दलाल एबम नौकरशाही पुजिपती बर्गको पक्षपोषण, निजीकरणलाई प्रोत्साहन तथा साम्राज्यवादको पक्षपोषण सरकारले तथा एकथरी उपल्लो नेताहरूले कुन बिचारका आधारमा गरिरहेका छन्?’

एकल पहिचान र बहुपहिचानको प्रतिबद्धता दिनेहरू स्वयम् आफ्नै प्रतिबद्धताबाट पछि हटनु, सरकारका नियुक्तिहरुमा ‘एक भाषा र एक संस्कृति’ कै समुदायको जबर्जस्त बर्चस्व देखिनु, समानुपातिक, समाबेशीको संबैधानिक निकाय बाट अप–ब्याख्या र व्यबहार हुनुले आन्तरिक उपनिवेशकरणको थप त्रास सृजना भएको यादवले जनाएका छन् ।

यस्तै, पार्टी नेताहरू कार्यकर्तासँग भेटन अप्ठ्यारो र ब्यापारीलाई भेटन सहज मान्ने गरेको, पार्टीको आन्तरिक बैधानिक ब्यबस्था अनुरुप बिबादहरुको निरुपण तथा जनयुद्ध र त्यसको जगमा भएका आन्दोलन र बिद्रोहहरुको दिशानिर्देश अनुसार पार्टी र सरकार अघि नवढेको सार्वजनिक अपिलमा उल्लेख छ ।

‘पार्टीमा गुट/उपगुटमा न बस्ने नेता÷कार्यकर्ताको भविस्य सकिएकै हो त?’ उनले नेतृत्वसँग प्रश्न गरेका छन्–‘नेताहरूको दरवारमा हाजिर लगाउनै पर्ने, नौकरशाही केन्द्रियता मान्नै पर्ने बाध्यतात्मक स्थितिको अन्त्य कहिले हुन्छ।’ पार्टीमा देखिएको वर्तमान अराजक अवस्थाको तुरुन्त अन्त्य गर्न उनले माग गरेका छन् ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer