राजविराज, ११ साउन । सप्तरीमा एक जना न्यायाधिस र एक प्रहरीलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित सप्तरीमा संक्रमितको संख्या ४ सय ३४ पुगेको छ ।
आईतवार उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधिस ५८ वर्षिय पुरुष तथा वडा प्रहरी कार्यालय राजविराजमा कार्यरत एक जना प्रहरीलाई समेत कोरोना पुष्टि भएको जनाईएको छ । न्यायाधिस काठमाण्डौ निवासी र ३२ वर्षिय प्रहरी जवान सिरहा निवासी हुन् ।
तीन दिनअघि उच्च सरकारी वकील कार्यालय राजविराजका प्रमुखलाई पनि कोरोना संक्रमण भएको थियो । लगत्तै सरकारी वकील कार्यालय र अदालतका न्यायाधीश तथा कर्मचारीको पनि स्वाब संकलन गरिएको थियो ।
सोहि कारण देखाउँदै उच्च अदालत जनकपुर राजविराज इजलासले वन्दीप्रत्यक्षीकरण, कोभिड १९ सँग सम्वन्धित निवेदन र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५५ वमोजिमका निवेदन वाहेक साउन ८ गतेदेखिका सम्पूर्ण पेशी लगायतका काम कारवाहीहरु अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गरेको छ ।
यसैगरी, आईतवारै तिरहुत गाउँपालिका २ का २६, वडा नं. ३ का ३८, वडा नं. ४ का २६ र वडा नं. ५ का २८ वर्षिय २ जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
