राजविराज, ८ साउन। राजविराजमा कोरोना संक्रमण तिव्र रुपमा फैलीरहेका वेला स्वाव संकलनका लागि आवश्यक भिटिएम (स्वाव राख्ने भाँडो) को अभाव भएको छ ।
संक्रमण समुदायमा फैलिएको र कन्ट्याक्ट ट्रेसिङ्गका आधारमा परीक्षणको दायरा बढाउनु पर्ने भएपनि भिटिएम अभाव हुँदा परीक्षण प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । कार्यालयले भिटिएमका लागि संघ र प्रदेश दुवैतर्फ प्रयास गरीरहेको छ तर हालसम्म कतैवाट उपलब्ध भएको छैन। ‘हामीसँग मंगलवार देखि नै भिटिएम सकिएको थियो, वुधवार प्रदेश आपुर्ती केन्द्रले २ सय ५० भिटिएम पठाए पनि अभाव कायमै छ’ निमित्त कार्यालय प्रमुख दुनियाँलाल यादवले भने–‘एक सय भिटिएम वुधवार नै सकियो, आजका लागि हामीसँग १ सय ५० मात्रै छ।’
कोरोना संक्रमणको अवस्था, शंकास्पद ब्यक्ति र कन्ट्याक्ट ट्रेसिङ्गका आधारमा तत्कालै ५ सय भिटिएमको आवश्यक्ता रहे पनि उपलब्ध हुन नसकेको यादवले जानकारी दिए । ‘आवश्यकता अनुसार सामग्री छैन, हामी धेरै दवावमा काम गरिरहेका छौं। सोचे अनुसारको काम गर्न सकिएको छैन’ उनले थपे–‘अझै पनि प्रयास जारी छ, भिटिएम उपलब्ध भए अनुसार काम पनि गर्दै जान्छौं।’
गत साउन १ गते कारोनाका कारण मृत्यु भएका राजविराजका ७३ वर्षिय ब्यापारी र उनको परिवार हुँदै कोरोना समुदायमा फैलिएको छ । समुदायमा कोरोना फैललिएको पुष्टि भएपछि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार विहिवारदेखि राजविराजमा अनिश्चितकालिन निशेधाज्ञा जारी गरिएको छ ।
अर्कोतर्फ जिल्ला स्वास्थ्य कार्यालयले कन्ट्याक्ट ट्रेसिङ्गका आधारमा शंकास्पद ब्यक्तिसहित जिल्लाका विभिन्न स्थानका क्वारेन्टाईमा रहेका ब्यक्तिको स्वाव संकलन र परिक्षण गरिरहेको छ । कन्ट्याक्ट ट्रेसिङ्ग मार्फत पहिलो चरणमा ५३ जनाको परिक्षण गर्दा परिवारका ५, छिमेकी २ र कामदार २ सहित ९ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।
दोश्रो चरणमा मृतकसहित १० जनाको सम्पर्कमा रहेका १ सय १६ जनाको स्वाव संकलन गरिएको छ। ति मध्ये १३ जनाको रिपोर्ट पोजेभि भएको छ। समग्रमा १८६ जनाको स्वाव संकलन गरिएको र रिपोर्ट आउने क्रम जारीनै रहेको निमित्त कार्यालय प्रमुख यादवले जानकारी दिए ।
संक्रमित मध्ये एक जना गजेन्द्रनारायण सिंह अस्पतालको इमरजेन्सि वार्डमा कार्यरत स्विपर र एक जना अस्पताल परिसर भित्रै रहेको पोषण पुनरस्र्थापना केन्द्रमा कार्यरत नर्स रहेको पाईएपछि अस्पतालको केहि सेवा वन्द गरेर सम्पुर्ण स्वास्थ्यकर्मी र कर्मचारीको स्वाव परिक्षणमा राखिएको छ ।
परिक्षण गर्नु पर्ने दायरा वढ्दै गएपनि आवश्यक्ता अनुसारको साम्रगी नहुँदा समस्या भएको यादवले जानकारी दिए । सप्तरीमा हालसम्म ६०६० जनाको पिसिआर परिक्षण गरिएको छ । ३ सय ४९ जनाको रिपोर्ट आउन वाँकी रहेको र अन्यको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
भिडियो: स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादव