राजविराज, ७ साउन। सप्तरीमा पछिल्लो समय कोरोनाको जगजगी छ। कोरोना संक्रमण समुदायमा पुगेको पुष्टि भएपछि सर्वसाधारण चिन्तित छन् ।
तर, यस्तो समयमा पनि नेपाल–भारत सिमा क्षेत्रमा सुरक्षा ब्यवस्था चुस्त हुन सकेको छैन । लुकिचोरी नेपाल–भारत ओहोरदोहोर गर्ने क्रम रोकिएको छैन । कपडा, तरकारी, घरायसी सामान र लागु औषध लिएर भारतीय क्षेत्रवाट नेपाल प्रवेश गर्ने क्रम अहिले पनि जारी छ ।
यसैक्रममा बोदेबर्साईन नगरपालिका–९ सुभरनपट्टी नाकावाट वुधवार एक युवक लागु औषध सहित पक्राउ परेका छन् । भारतीय क्षेत्रवाट नेपालतर्फ आउँदै गरेको अवस्था सशस्त्र प्रहरीको टोलीले खडक नगरपालिका ८ का २२ वर्षिय मनोजकुमार मण्डललाई पक्राउ गरेको हो ।
शंकास्पद गतिविधि देखिएपछि सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट सुभरनपट्टीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक हिमाल केसीसहितको टोलीले उनलाई चेकजाँच गरेको थियो । उनको साथवाट ठुलो मात्रामा डाइलेक्स डिसी, नेट्रोभेल लगायतका लागु औषध वरामद भएको केसीले जानकारी दिए । उनलाई वरामद लागु औषधसहित ईलाका प्रहरी कार्यालय बोदे बर्साईनमा वुझाईएको छ ।