• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

प्रदेश २ सरकारद्वारा ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजार रुपैयाँको बजेट प्रस्तुत

सप्तरीको भारदह अस्पताल र औद्योगिक क्षेत्रलाई समेत बजेट
प्रदेश २ सरकारद्वारा ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजार रुपैयाँको बजेट प्रस्तुत

राजविराज, १ असार । आगामी आर्थिक वर्ष २०७७÷०७८ कालागि प्रदेश नम्वर २ सरकारद्वारा सोमबार कुल ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले उक्त बजेट प्रस्तुत गरेका हुन् । पूँजीगततर्फ १७ अर्ब, ९७ करोड ८२ लाख, ९१ हजार तथा वित्तीय व्यवस्थातर्फ १६ करोड रुपैयाँ बजेट छुट्याईएको छ । उनका अनुसार राजस्वबाट १२ अर्ब २४ करोड २८ लाख ६० हजार, नेपाल सरकारबाट प्राप्त अनुदानबाट १३ अर्ब ४० करोड ५९ लाख र चालू आर्थिक वर्षको खर्च हुन बाँकी रकमबाट ६ अर्ब ९१ करोड २२ लाख, २९ हजार रुपैयाँ रहेको छ ।
मन्त्री यादवले प्रस्तुत गरेको बजेट वक्तब्यमा सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा पूर्वाधार सुविधा पुर्याई आधुनिकीकरण गर्नुका साथै पूर्ण क्षमता अध्ययनकालागि ३० लाख रुपैयाँ विनियोजन गरिएको छ । सप्तरीको भारदह अस्पताललाई स्तरोन्नती गरी सुविधायुक्त अस्पतालको रुपमा विकास गर्न ६ करोड ७९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
यसैगरी प्रदेशभित्र सप्तरीदेखि पर्सासम्म मधेशी सहीद राजमार्ग निर्माणकालागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्न तीन करोड रुपैयाँ विनियोजन गरिएको छ । जनकपुरको प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन ४५ करोड ५३ लाख र प्रदेश प्रहरी गठन र भौतिक पूर्वाधारकालागि ३९ करोड २५ लाख छुट्याईएको छ ।