• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

सप्तरीको खुदीबखारीका यूवाहरुले लकडाउनमै बनाए बाटो

‘माटो तथा ग्राभेलकालागि सहयोग गर्न आग्रह’
सप्तरीको खुदीबखारीका यूवाहरुले लकडाउनमै बनाए बाटो

राजविराज, १ जेठ । युवाहरुमा ईच्छा शक्ति भए असम्भवलाई पनि सम्भव बनाएरै छाड्छन् । यस्तै उदाहरण बनेका छन् सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्वर–६ खुदीबखारी टोलका यूवाहरु । वर्षौदेखि त्यहाँका वासिन्दाहरुले आली भएर आवत–जावत गर्नुपर्ने बाध्यता थियो । करिब साढे दुई किलोमिटर नजिकै रहेको छिन्नमस्ता सखडा बजारसम्म अर्को घुमाउरो बाटोबाट पुग्न ६ किलोमिटर यात्रा गर्नुपरेको थियो । वर्षायाममा त केही महिनासम्म आली भएर पैदल हिड्नसम्म गाह्रै हुन्थ्यो । पैदल मात्र हिड्न सकिने आलीलाई युवाहरुले बाटो बनाएर उदाहरणीय बनेका छन् ।
बाटो बनाउने कार्य स्थानीय यूवा कृष्ण कुमार मण्डलको अगुवाईमा सफल भएको हो । पेशाले उनी पत्रकार हुन् । उनी काठमाण्डौ रहेर अध्ययनसँगै अनलाइन पत्रकारिता गर्दैआएका थिए । विश्वमै महामारीको रुपमा फैलिंदै गएको कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले लकडाउन आह्वान गरिएपछि उनी जन्मथलो खुदीबखारीमै घेरिए । व्यर्थै घरमा समय बिताउनुपर्ने बाध्यात्मक अवस्था तथा अर्कोतर्फ आवत–जावत गर्न बाटोको अभाव । कृषि कर्ममा अग्रणी उक्त वस्तीका किसानहरुलाई झन समस्या रहेको थियो । कृषि उपज बजारसम्म पुर्याउन समेत सास्ती झेल्नु परेको थियो ।
यूवाहरुको नेतृत्व गर्ने कृष्णले बाटो बनाउनकालागि संघीय, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधीहरुसँग समेत सहयोग मागे तर आश्वासन मात्र पाए । यद्यपी उनले हिम्मत हारेन । स्थानीय यूवाहरुलाई भेला पारेर बाटो बनाउने कुरा राखे । सहमती त सबैले जनाए तर बाटो बनाउने कसरी ? बाटोमा त निजी जग्गाहरु नै थियो । अर्को समस्याको रुपमा थियो बिना रकम काम कसरी गर्ने ? यद्यपी यूवाहरुले जग्गाधनीहरुलाई अनुनय–विनय गरेर रिझाउन सफल भए । तत्काल लाग्ने सामान्य खर्च कृष्णले व्योहोर्ने प्रतिवद्धता जनाएपछि स्थानीय प्रशासनबाट अनुमति लिएर गत वैशाख १४ गतेदेखि गाउँका २५ जना यूवा कोदालो, बन्चरो, खुकुरी, हसिया सहितका औजारहरु बोकेर काममा जुटे ।
सामाजिक दूरीलाई कायम राख्दै बाटोमा पर्ने रुख, झारपातलाई काट्नुकासाथै चार मिटर चौडाईको १४ सय मिटर बाटो बनाउने कार्यलाई निरन्तरता दिईरहे । अन्ततः खुदीबखारीसम्म पुग्ने कच्ची बाटो निर्माण कार्यले मूर्त रुप लिएको छ । यद्यपी उक्त बाटोको दुवैतर्फ चैते धान खेती खेती गरिएकोले थप माटो बाहिरबाट ल्याउनु परेको छ । उक्त बाटोमा माटो भर्नकालागि तत्काल यूवा कृष्णले नै आफ्नो निजी रकम लगानी गरिरहेका छन् । यूवाहरुले गरेको उदाहरणीय कार्यको गाउँलेहरुले मुक्तकण्ठले प्रशंसा गर्न थालेका छन् । बाटोमा लागेको खर्च कतैबाट उपलब्ध नभए चन्दा उठाएर भए पनि सहयोग गर्ने स्थानीय देवनारायण मण्डलले बताए ।
यता खुदीबखारी टोल पुग्ने बाटो बिना बजेटकै निर्माण भईरहेको कार्यप्रति छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डलले प्रशंसा गर्दै बाटोको स्तरोन्नतीकालागि पालिकाबाट अर्को आर्थिक वर्षमा बजेट उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । यसरी नै अन्य टोल बस्तीका यूवाहरु आफ्नो गाउँ बनाउन अगाडि बढ्नुपर्ने सुझाव दिँदै यूवाहरुको कामबाट आफु अत्यन्तै उत्साहित भएको उनले बताए ।
राजविराज–छिन्नमस्ता सडकमा जोडिने सम्पर्क बाटो निर्माण आफैमा चुनौती रहे पनि गाउँका यूवा, अग्रज, जग्गाधनीहरु समेतको सहयोगमा सफल भएको अगुवा कृष्णले बताए । गाउँसम्म जोड्ने बाटोमा ह्युम पाइप एवम् माटो तथा ग्राभेल भईदिएमात्र आफुहरुको सपना पूर्ण रुपमा साकार हुने बताउँदै उनले भने ‘आफ्नो गाउँठाउँमा विकास हुनु खुशीको कुरा हो, बाटो निर्माणमा सहयोगी हातहरुको खाँचो रहेको सबैपक्षलाई अग्रसरता देखाउन आग्रह छ ।’ सडकमा निजी व्यक्तिहरुको जग्गा पर्न गएकोले सार्वजनिक बाटो कायम गरी नक्सा समेत पास गरिने आफुहरुको सोच रहेको उनले बताए ।
उनका अनुसार उक्त बाटो भएर खुदिबखारी, कुपही, हाट्टी लगायतका गाउँका वासिन्दाहरुलाई आवत–जावत गर्न सहज भएको छ ।
शब्द तथा तस्विरः श्यामसुन्दर यादव/राजविराज