राजविराज, १४ वैशाख । कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट जोगाउन आह्वान गरिएको लकडाउनका कारण फूल बिक्री नहुँदा पुष्प व्यवसायीहरु मारमा परेका छन् ।
मन्दिरहरुमा सभा, सम्मेलन, पूजापाठ, विवाह, व्रतबन्ध लगायतका शुभकार्यहरु पूर्ण रुपमा रोकिँदा फूलको खपत हुन नसकेको हो । जिल्लाको प्रमुख शक्तिस्थल छिन्नमस्ता र कङ्कालिनी भगवती मन्दिरमा दैनिक रुपमा फूलको खपत हुने गर्दछ । यसका साथै विभिन्न शुभकार्य एवम् समारोहहरुमा साजसज्जाकालागि प्रायः सयपत्री फूलको प्रयोग गर्ने गरिन्छ ।
चैत्र महिनाको शुरुवातीसँगै कोरोना भाइरसको हल्लाका कारण सयपत्री फूलको खपत घट्दै गएको थियो । सोही क्रममा नेपाल सरकारले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै चैत्र ११ गतेदेखि नै लकडाउन आह्वान गरेपछि आफुहरुको कारोबार पूर्ण रुपमा ठप्प भएको छिन्नमस्ता गाउँपालिका वडा नम्वर–३ का पुष्प व्यवसायी चन्देश्वर मण्डल बताउँछन् ।
घर छेउमै रहेको छिन्नमस्ता भगवती शक्तिपीठमा उनी विगत १३ वर्षदेखि फूलसहित पूजा सामग्री विक्री गर्दैआएका छन् । मन्दिरमा भगवतीलाई चढाउनकालागि सयपत्री फूल दरभङ्गा मुजफ्फरपुर, कलकता लगायतका भारतीय सहरहरुबाट ल्याउने गर्दथे । वर्षेनी करिब २०–२५ लाख रुपैयाँको फूल भारतबाट मगाउनुपर्ने बाध्यता रहेकोमा उनी एक वर्षयता आफै फूल खेतीमा लागेका हुन् । गत पुसमा उनले राजविराज स्थित सनराइज बैंकबाट चार लाख रुपैयाँ ऋण लिएर व्यवसायिक रुपमा सयपत्री फूलको खेती गरेका छन् । कलकत्ताबाट उन्नत जातको फूल मँगाई दश कट्ठा जग्गा भाडामा लिएर सयपत्री लगाएका छन् । 
सयपत्री फूल्नै लागेको अवस्थामा नै लकडाउन भएपछि फूल खेतमै सुक्ने गरेको पुष्प व्यवसायी मण्डलको दुःखेसो छ । एउटा बोटमा २५ देखि १०० ओटासम्म फूल फूलेको बताउँदै उनी भन्छन् ‘फूल टिपेरै के गर्नु ? बोटमै सुक्ने गरेको छ, ऋण काढेर गरेको उत्पादन गरेको फूल बिक्री नै नभएपछि ऋण कसरी तिर्ने भनी चिन्ताले सताएको छ ।’ लगानी र मेहनत दुवै खेर भएकोले आफुहरुलाई प्रोत्साहन स्वरुप सरकारलाई राहत अनुदान उपलब्ध गराउन उनको आग्रह छ ।
यस्तै पीडा सुनाउँछन् अर्का पुष्प व्यवसायी मो. समसाद पनि । राजविराज वडा नम्वर–४ मा समसाद नर्सरी सञ्चालन गर्दैआएका उनले दश कट्ठामा सयपत्री फूल लगाएका छन् । लकडाउनले गर्दा फूल नै बिक्री नभएपछि लगाएको लगानी समेत डुृब्ने अवस्था आएको उनी बताउँछन् ।
चार कट्ठामा लगाएको फूल बोटमै सुकेर झर्न थालेको तथा भोरुकवा एफ.एम.को छेउमा लगाएको ६ कट्ठामा रहेको सयपत्री फूल्ने क्रममा रहेको उनले जानकारी दिएका छन् । फूल बिक्री हुने मुख्य सिजनमै लकडाउन परेकोले मेहनत र लगानी दुबै डुबेको उनको दुःखेसो छ ।
केही वर्ष यता सप्तरी जिल्लामा तीस भन्दा किसान व्यवसायिक रुपमा फूल खेती गर्दैआएका छन् । स्थानीय स्तरमै फूल खेती हुन थालेपछि भारतबाट आयात हुने फूलमा विस्तारै कमी आउँदै गएको छ ।
आर्थिक
लकडाउनको मारमा सयपत्री फूल खेती
पुष्पव्यवसायी भन्छन् ‘लगानी र मेहन त्यसै खेर गयो’