• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

लकडाउनमा दाना अभावले कुखुरापालन व्यवसायी धरासायी

सागपातको भाउमा कुखुरा विक्री गर्नुपर्ने वाध्यता
लकडाउनमा दाना अभावले कुखुरापालन व्यवसायी धरासायी

राजविराज, २६ चैत्र । निरन्तरको लकडाउनका कारण दाना अभावले गर्दा सप्तरी जिल्लामा सञ्चालित पोल्ट्री फर्महरु धरासायी बन्न थालेको छ ।
सवारी साधन नचलेका कारण दाना आपुर्ति हुन नसक्दा पोल्ट्री फर्महरुमा रहेका कुखुराहरु दुब्लाउँदै मर्ने अवस्थामा पुगेको हो । लाखौंको लगानीमा सञ्चालित फर्महरुमा विगत दुई साता यता दाना आएको छैन । दाना नै नपाएपछि कुखुरा तथा चल्लाहरुलाई गहुँ तथा चामल खुवाएर जेनतेन ज्यान जोगाउने गरेको रुपनी गाउँपालिका–४ का कुखुरापालक कृषक दिपेन्द्र प्रसाद यादवले बताए ।
दाना अभावले कुखुराहरुको वजन बढ्नुको साटो घट्दै गएकोले तरकारीको भाउमा बेच्न थालिएको छ । ऋण लिएर कुखुरा व्यवसाय शुरु गरेकोमा लकडाउनले गर्दा लगानी समेत डुब्ने अवस्था आएको उनको दुःखेसो छ । कुखुरा तथा चल्लाकालागि दाना ढुवानीको वैकल्पिक व्यवस्था मिलाईए कुखुरा तथा चल्लाहरुलाई राहत हुने उनको भनाइ छ ।
‘उत्साहका साथ कुखुरापालन शुरु गरेकोमा लामो लकडाउनले सबै वर्वाद भएको छ’ कुखुरापालक दिपेन्द्रले भने ‘अहिले दानाको अभावमा कुखुराहरुको ज्यान जोगाउन मुस्किल छ, गहुँ र पानी खुवाएर कुखुराहरु सहज रुपमा बाँच्ने अवस्था छैन ।’ सरकारले कुखुरापालनमा लागेकाहरुलाई प्रोत्साहन स्वरुप राहतको व्यवस्थापन गरिदिए केही राहत हुने उनले बताए ।
यस्तै पीडा रहेको छ विष्णुपुर गाउँपालिका वडा नम्वर–१ का कुखुराव्यवसायी मनोज कुमार यादवको । ‘एक त कुखुराहरु दाना अभावले वजन बढिरहेको छैन भने अर्कोतर्फ विक्रीकालागि तयारी अवस्थामा रहेका कुखुराहरु सुक्नै लागेको छ’ उनले थपे ‘कोरोना भाइरसको त्रासका कारण उपभोक्ताहरु कुखुरा खाने उपभोक्ताहरु घटेकोले सागकै भाउमा विक्री गर्नुपर्ने अवस्था छ ।’
सप्तरी जिल्लामा चार सय भन्दा बढी पोल्ट्री फार्महरु सञ्चालनमा रहेको छ । कुखुरापालक कृषकहरुको समस्याप्रति सम्वन्धित निकायले ध्यान नदिए कुखुरापालन धरासायी हुने निश्चत रहेकोले सरोकारवालाहरुलाई गम्भीरतापूर्वक लिन व्यवसायीहरुको आग्रह छ ।