• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

हातखुट्टा काट्ने धम्की दिएको भन्दै कर्मचारी र जनप्रतिनिधिहरु आन्दोलित

गाउँपालिका र वडा कार्यालयमा तालाबन्दी
हातखुट्टा काट्ने धम्की दिएको भन्दै कर्मचारी र जनप्रतिनिधिहरु आन्दोलित

राजविराज, ०७ चैत्र । गाउँपालिकाकी उपाध्यक्षका पतिले कर्मचारीहरुलाई गालीगलौज तथा हातखुट्टा काट्ने धम्की दिएको भन्दै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु आन्दोलित भएका छन् ।
उनीहरुले शुक्रवार गाउँपालिका कार्यालयमा तालाबन्दी गरी आन्दोलन थालेका हुन् । गाउँपालिकाकी उपाध्यक्ष सुचिताकुमारी यादवका पति शिवनाथ यादवले कर्मचारीहरुमाथि गरेको दुव्र्यवहारप्रति क्षमायाचना नगरे गाउँपालिकामा गरिएको तालाबन्दी कायमै राख्ने उनीहरुले अडान लिएका छन् ।
गाउँपालिका कार्यालयकाअनुसार गत विहिवार निमित्त प्रमुख प्रशासकीय अधिकृत राजुकुमार झा र सह लेखापाल लिलाराज श्रेष्ठलाई यादवले उपाध्यक्षकै अगाडि गालीगलौज गर्दै हातखुट्टा काट्ने भनी धम्की दिएका छन् ।
गालीगलौज तथा धम्कीको विरोधमा शुक्रवार स्वास्थ्य संस्थाबाहेक गाउँपालिका कार्यालय तथा सबै वडा कार्यालयहरु बन्द गरिएको थियो । यादवले यस अघि पनि पटक पटक कर्मचारीहरुसँग दुब्र्यवहार गर्दै आएकोले गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह तथा वडा अध्यक्षहरु दिनेश्वर मिश्र, खगेन्द्र मण्डल र गुलावप्रसाद सिंह, कार्यपालिका सदस्य उमेश राय तथा कर्मचारीहरुको बैठकले आन्दोलन थालेको जनाएको छ ।
दुब्र्यवहार गर्ने यादवले अगामी आईतवारसम्म प्रतिक्षमा याचनाकासाथै आगामी दिनमा यस्ता दुब्र्यवहार नगर्ने लिखित प्रतिबद्धता नजनाए गाउँपालिका कार्यालय तथा वडा कार्यालयहरुमा गरिएको तालाबन्दी यथावत राखि कानुनी कारबाहीको लागि अगाडि बढ्ने निर्णय गरिएको गाउँपालिकाका स्थानीयतह कर्मचारी तदर्थ समितिका अध्यक्ष रामप्रसाद सिंहले जानकारी दिएका छन ।