राजविराज, ३० फागुन । कोरोना भाइरसबाट जोगिन चौतर्फी सतर्कता अपनाईरहँदा राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालका स्वास्थ्यकर्मीहरु आफै असुरक्षित रुपमा काम गर्न बाध्य भएका छन् ।
अस्पताल प्रशासनले त्यहाँका कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुकालागि मास्क समेत उपलब्ध नगराउँदा उनीहरु असुरक्षित रुपमा सेवा दिन बाध्य भएका हुन् । चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुले आफुहरु दैनिकजसो सय जनासम्म विरामीको स्वास्थ्य परीक्षण गर्नुपर्ने अवस्था रहेकोले अस्पताल प्रशासनलाई आफुहरुले मास्क माग गरेको तर हालसम्म नपाएको अस्पतालका डा. सरोज कुमार यादवले गुनासो गरे ।
खुल्ला सिमानाका कारण सप्तरी जिल्ला कोरोना भाइरसको उच्च जोखिममा रहेको जानकारी दिँदै उनले भने ‘पहिला त हामी स्वास्थ्यकर्मीहरु नै यहाँ सुरक्षित छैनौं, दैनिक भींडभाडमै हामीलाई काम गर्नुपर्छ, कम्तिमा मेडिकेटेड मास्क लगायतका अति आवश्यक सामग्री चाहिएको छ तर बिना मास्ककै हामी काम गरिरहेका छौं ।’ आइतवारसम्ममा मास्कको व्यवस्था गर्ने आवश्वासन पाएको बताउँदै डा. यादवले आइतवारसम्म पनि आफुहरुलाई मास्क लगायतका अति आवश्यक सामग्री उपलब्ध नभए ज्यान जोखिममा राखेर काम गर्न नसकिने जानकारी दिए । कोरोनो भाइर आफुहरु असुरक्षित अवस्थामा काम गर्न बाध्य भएको भन्दै स्वास्थ्यकर्मीहरुले मास्कको व्यवस्था मिलाउन माग गर्नुभएको हो । दैनिकजसो पचास भन्दा बढी विरामी हेर्नुपर्ने अवस्था रहेकोले त्रासदीपूर्ण अवस्थामा आफुहरुले विरामीलाई सेवा दिनुपरेको डा. सरोज कुमार यादवले बताउनुभयो ।
यता अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. दिलिप कुमार साहले सुध्रिँदै गएको अस्पतालको अवस्था पुनः खस्किन लागेको स्वीकार गर्दै चिकित्सकसहित स्वास्थ्यकर्मीहरुकालागि मास्कको व्यवस्था मिलाउन आफु प्रयासरत रहेको बताए । आफु निमित्तको जिम्मेवारीमा रहेकोले भ्याएसम्म अस्पतालको अवस्था सुधार गर्न भूमिका निर्वाह गर्ने उनको प्रतिवद्धता छ ।