• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई प्रोत्साहन छात्रवुतिः मन्त्री साह

राजविराज ३० फागुन । प्रदेश नम्वर २ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेश अन्तर्गतका सामुदायिक विद्यालयमा अध्ययनरत अति विपन्न एवम् दलित बालबालिकाहरुकालागि प्रोत्साहन स्वरुप भत्ता उपलब्ध गराईने बताएका छन् ।
राजविराज स्थित रमेश नारायण दास आदर्श प्राथमिक विद्या मन्दिर विद्यालयमा शुक्रवार आयोजित पोशाक वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । शिक्षा बिना विकास र सामाजिक रुपान्तरणको परिकल्पना गर्न नसकिने बताउँदै उनले भने ‘आगामी महिनादेखि प्रदेश २ का सामुदायिक विद्यालयमा अध्यनरत अति विपन्न गरिब विद्यार्थीहरुको पढाईमा सहयोग पुर्याउने उद्देश्यले मासिक पाँच–पाँच सयका दरले प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय भएको छ ।’
प्रदेश सभा सदस्य एवम् अर्थ समितिका सभापति मनिष सुमनले विद्यालयको शिक्षामा सुधार भए मात्र देशमा समृद्घि हासिल हुने बताए । मधेशको शिक्षालाई आधुनिक प्रविधि मैत्री बनाई अगाडी बढनुपर्नेमा जोड दिँदै उनले सदरमुकाम राजविराजको मुटुमा रहेको यस पुरानो विद्यालयमा बढी भन्दा बढी विद्यार्थीहरुको आकर्षण बढाउनुपर्ने बताए ।
स्तरीय पठन पाठन तथा विपन्न बालकालिकालाई विशेष सुविधा दिएर पनि विद्यालय भर्ना गर्नु जरुरी रहेको बताए । कार्यक्रममा राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, उद्योग बाणिज्य संघका कोषाध्यक्ष प्रमोद कावरा, वडा अध्यक्ष मागीलाल नाई लगायतले पनि बालबालिकालाई पोशाक हस्तान्तरण गरे ।
बालबालिकालाई विद्यालयसम्म पहुँच पुर्याउन, नियमित विद्यालय आउन प्रोत्साहन गर्न तथा शिक्षातर्फ आकर्षित गराउने उद्देश्यले जिल्लाकै पुरानो मध्येका एक सप्तरी सदरमुकाम राजविराज स्थित रमेश नारायण दास आर्दश प्राथमिक विद्या मन्दिरका छात्र छात्राहरुलाई पोशाक वितरण गरिएको छ ।
नेपाल सरकारबाट प्राप्त दलित तथा छात्रा छात्रवृति वापत प्राप्त भएको रकममा विद्यालय परिवार थप रकम जुटाई विद्यालयमा अध्यनरत सवै ८५ जना बालबालिका लागि पोशाक खरिद गरी वितरण गरिएको छ । सरकारबाट छात्रवृति वापतप्रति विद्यार्थीकालागि प्राप्त भएको जनही ४ सय रुपैयाँमा पाँच सय रुपैयाँका दरले थप गरी पोशाक खरिद गरी वितरण गरिएको छ ।
विद्यार्थीहरुका लागि नेपाल सरकारबाट प्राप्त रकममा विद्यालय परिवारले थप सहयोग जुटाई सबै विद्यार्थीलाई पोशाक वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैजु जोशीले जानकारी दिए ।