राजविराज, २९ फागुन । प्रदेश नम्वर २ का भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालको स्थलगत निरीक्षण गर्दै अविलम्ब आइसुलेशन वार्ड स्थापना गर्न निर्देशन दिएका छन् ।
विगत केही समययता सर्वसाधारणमा बढ्दो कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणबाट जोगिन तथा जोगाउन अस्पतालको अवस्थाबारे उनले आवश्यक जानकारी लिएका हुन् । सप्तरी जिल्लामा साना–ठूला गरी भारतसँग जोडिएका खुल्ला सिमा नाकाहरु रहेकोले पूर्वतयारी एवम् व्यवस्थापनमा जोड दिन अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. दिलिप कुमार साहलाई मन्त्री साहले निर्देशन दिएका छन् ।
कोरोना भाइरसको उच्च जोखिममा सप्तरी जिल्ला रहेको भन्दै मन्त्री साहले अस्पतालमा छुट्टै आइसुलेसन वार्ड अविलम्ब स्थापना गर्न निर्देशन दिँदै भने ‘गजेन्द्रनारायण सिंह अस्पतालमा कोरोना भाइरसको सम्भावित विरामीको तत्काल उपचार तथा निगरानीकालागि अविलम्ब छुट्टै आइसुलेसन वार्ड स्थापना गर्न निर्देशन दिएको छु, उक्त वार्डमा काम गर्ने स्वास्थ्यकर्मीहरुको नामावली समेत उपलब्ध गराउन भनेको छु, उनीहरुलाई तालिमको व्यवस्था गरी दक्ष बनाउन समन्वय गर्नेछु ।’
अस्पताल निरीक्षणका क्रममा स्वास्थ्यकर्मीहरु समेत आफै बिना मास्ककै काम गरिरहेकोले अविलम्व मास्कको व्यवस्था गर्न अस्पतालका निमित्त मेसु डा. दिलिप कुमार साहलाई सुझाव दिएका छन् । आवश्यक औषधीहरु समेत व्यवस्थापन गरी तयारी अवस्थामा रहन अस्पताल प्रशासनलाई उनले सुझाएका छन् । मन्त्री साहले अस्पतालको आकस्मिक लगायत विभिन्न वार्डहरुको निरीक्षण एवम् अवलोकन गरेका छन् ।
भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवसँग समेत आवश्यक तयारी तथा सिमानाकाहरुमा हेल्प डेस्कको अवस्थाबारे जानकारी लिएका छन् । हेल्प डेस्कमा खटिएका कर्मचारीको विस्तृत विवरण माग गरे लगत्तै स्वास्थ्य प्रमुख यादवले हाल सप्तरीको राजविराज विमानस्थल, तिलाठी कोइलाडी गाउँपालिकाको बेल्ही भन्सार (तिलाठी), बलान बिहुल गाउँपालिकाको बेल्ही बोर्डर, बलान बिहुल गाउँपालिकाकै रामनगर कोदरकट्टी र डाक्नेश्वरी नगरपालिकाको कुशहा बोर्डरमा हेल्प डेस्क राखिएको जानकारी दिएका छन् । बाँकी नाकाहरुमा समेत हेल्प डेस्क राखिने तयारी भईरहेको स्वास्थ्य प्रमुख यादवले बताए ।
यसैगरी मन्त्री साहले सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालसँग समेत जिल्लाको समग्र अवस्था तथा सम्भावित कोरोना भाइरसबाट जोगिन आवश्यक तयारीबारे समन्वय गरेका छन् । जिल्ला प्रशासन कार्यालय तथा मातहतका निकायहरुमार्फत आवश्यक सचेतना एवम् जागरण कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएका छन् । भीडभाड हुने कार्यक्रमहरु समेत आयोजना नगर्न प्रमुख जिल्ला अधिकारी खनालले यस अघि नै आह्वान गरिसकेका छन् ।
राष्ट्रिय
कृषि मन्त्री साहद्वारा गनासिं अस्पतालको स्थलगत निरीक्षण
अविलम्ब आइसुलेशन वार्ड स्थापना गर्न निर्देशन