राजविराज, २१ फागुन । राष्ट्रिय सभाका सदस्यहरुको पद तथा गोपनियताको सपथ ग्रहण बुधबार गराईएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १८ जना सदस्यहरुको सपथ ग्रहण काठमाण्डौ स्थित संसद भवनको ल्होत्से सभा हलमा गराईएको हो । नेपाल कम्युनिष्ट पार्टीका १६ जना र राष्ट्रिय जनता पार्टी नेपालका २ जना सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
यसरी सपथ ग्रहण गर्नेहरुमा नारायणकाजी श्रेष्ठ, बेदुराम भुसाल, देवेन्द्र दाहाल, इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अछामी, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, भगवती न्यौपाने, तारामान स्वाँर, शारदादेवी भट्ट, सुमित्रा विसी, मायाप्रसाद शर्मा, गोपाल भट्टराई, विमला घिमिरे, गंगाकुमारी बेल्बासे र जगतप्रसाद शर्मा, मृगेन्द्रकुमार सिंह र शेखरकुमार सिंह यादव रहेका छन् ।
मैथिली भाषामा सपथ
राष्ट्रिय जनता पार्टी (राजपा)बाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित शेखरकुमार सिंह र मृगेन्द्र कुमार सिंह यादवले मैथिली भाषामा सपथग्रहण गरेका छन् । सप्तरी निवासी दुवैजनाको मातृभाषा मैथिली हो । पद तथा गोपनियताको सपथ ग्रहण समारोहमा सहभागी भएका शेखर कुमार सिंहले राजपुतको जातीय पहिरणमा र अर्का सदस्य मृगेन्द्र कुमार सिंहले कुर्ता–पाइजामा तथा टाउकामा सेतो गम्छाको पगरी (मुरेठा) बाँधेका थिए । समारोहमा उनीहरुलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ब्याच लगाउँदै कार्यकाल सफलताको शुभकामना दिएका छन् ।
को हुन् मृगेन्द्र कुमार सिंह यादव ?
सप्तरीको बोदेबर्साईन वडा नम्वर– १ निवासी स्व. शत्रुघन प्रसाद यादव र जीवेश्वरी देवी यादवका छोरा हुन् मृगेन्द्र कुमार सिंह । वि.सं. २०१२ साल फागुन १२ गते उनको जन्म भएको हो । स्नातक तहसम्म शिक्षा आर्जन गरेका उनी राष्ट्रिय जनता पार्टी, (राजपा) नेपालका वरिष्ठ उपाध्यक्ष हुन् ।
मृगेन्द्र साढे तीन दशकदेखि राजनीतिमा सक्रिय छन् । २०४२ सालमा राष्ट्रिय पञ्चायत सदस्यको उम्मेदवार भएर उनले राजनीतिको श्रीगणेश गरेका थिए । तत्कालीन राष्ट्रिय पञ्चायतको २०४२ सालमा भएको उपचुनावमा उनी पराजित भएका थिए । २०४३ सालमा उनी विजयी भएर राष्ट्रिय पञ्चायत सदस्यको जिम्मेवारी पाएका थिए ।
२०४६ सालको अन्त्यतिर तत्कालीन प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठको सरकारमा यादव सहायक सिंचाई मन्त्री बनेका थिए । राष्ट्रिय पञ्चायतको जलस्रोत समितिको सभापति भएर पनि यादवले काम गरेका थिए । प्रजातन्त्रको पुनःस्थापना पछि उनी २०४८ सालमा स्वतन्त्र रुपमा चुनाव लडे पनि निकटतम प्रतिद्वन्द्वी भएका थिए ।
चुनावमा पराजय भएपछि यादव नेपाल सद्भावना पार्टीमा प्रवेश गरेका थिए । २०४९ सालमा जिल्ला विकास समितिको सभापतिमा चुनाव लडे पनि उनी पराजित भएका थिए । सदभावना पार्टीका तर्फबाट २०५१ सालको मध्यावधि चुनावमा उम्मेदवार बने पनि पराजित भए । २०५६ सालमा मृगेन्द्रले सद्भावना पार्टीको तर्फबाट सांसदमा निर्वा्चित भएका थिए । २०६४ सालमा मधेशी जनअधिकार फोरम, नेपालको तर्फबाट उम्मेदवार भई सांसद बनेका थिए ।
फोरम नेपाल विभाजन भएपछि उनी विजयकुमार गच्छादार नेतृत्वको फोरम (लोकतान्त्रिक)मा लागेका थिए । सोही क्रममा माधवकुमार नेपाल नेतृत्वको सरकारमा कृषि मन्त्रीको जिम्मेवारी पाएका थिए । संसद र संविधान सभामा हुँदा उनले विभिन्न समितिमा रहेर उनले काम गरे । तत्पश्चात गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक परित्याग गर्दै उनी राजपामा प्रवेश गरेका थिए ।
गठबन्धनकोतर्फबाट राष्ट्रिय जनता पार्टी नेपालबाट उम्मेदवार भई उनले ५ हजार ४ सय मतभार प्राप्त गरि विजयी भएका छन् ।
को हुन् शेखर कुमार सिंह ?
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर–४ (साबिक कोइलाडी वर्साइन–१) स्थित कोइलाडीमा माता स्व. गया देवी सिंह तथा पिता सिता प्रसाद सिंहको कोखबाट शेखर कुमार सिंहको जन्म २०१३ सालमा भएको हो । प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेका उनी किशोरावस्थादेखि नै सामाजिक क्षेत्रमा रहँदैआएका छन् ।
वि.सं.२०३५ सालदेखि राजनीतिमा सक्रिय रहँदैआएका उनी २०६१ सालमा राजविराजको पुनरावेदन अदालतमा न्यायिक समितिको सदस्य समेत भएका थिए । शरत सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टीमा २०६९ प्रवेश गरी राजनीतिमा सक्रिय भएका थिए । सोही पार्टीबाट उनले संसदीय क्षेत्र नम्वर २ बाट प्रतिनिधी सभा सदस्यमा उम्मेवार भएका थिए । यद्यपी उनले जीत भने हासिल गने सकेन । मधेश आन्दोलनमा सक्रिय रहँदै मधेशवादी पार्टीहरु एकीकरण भई निर्माण भएको राष्ट्रिय जनता पार्टी (राजपा) मा सिंह वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाएका थिए ।
खेलकुद एवम् समाजसेवामा सक्रिय उनी राष्ट्रिय खेलकुद परिषद्को सदस्य समेत भएका थिए । सिंह नेपाल रेडक्रस सोसाईटी, लायन्स क्लव लगायतका संस्थाहरुमा आजिवन सदस्य छन् । उनका तीन तीन भाइ छोराहरु क्रमशः सुरज कुमार सिंह, सतिश कुमार र सत्यवान सिंह रहेका छन् । उनका माइलो छोरा सतिश राजपाबाटै तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्ष हुन् ।
राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार सिंहले ५ हजार ५ सय २ मतभार प्राप्त गरी विजयी भएका छन् ।
राष्ट्रिय
सप्तरीका राष्ट्रिय सभा सदस्यद्वयद्वारा मैथिलीमा सपथ
मृगेन्द्र र शेखरको आ–आफ्नै शैलीको पहिरण