• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

युवाहरुलाई सीप सहितको रोजगारी दिनुपर्छः मुख्यमन्त्री राउत

युवाहरुलाई सीप सहितको रोजगारी दिनुपर्छः मुख्यमन्त्री राउत

जनकपुरधाम, २१ फागुन । प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले युवाहरुलाई सीप सहितको रोजगारी दिनुपर्ने बताएका छन् ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषले जनकपुरमा आयोजना गरेको स्वरोजगार कर्जा सम्बन्धि प्रदेश स्तरीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले युवाहरुलाई सीप सहितको रोजगारीमा लगाउनुपर्ने बताए । मानव संसाधन सबै भन्दा ठुलो शक्ति भए पनि त्यसलाई देशले अहिलेसम्म परिचालन गर्न नसकेकै कारण देश गरिब भएको भन्दै मुख्यमन्त्री राउतले युवाहरुलाई सीपसहितको रोजगारी दिन सकिए मात्र समृद्धि सम्भव हुने बताए ।
युवाहरुलाई सीपयुक्त बनाउन प्रदेश सरकार प्राविधिक विश्वविद्यालयको अवधारणालाई अघि बढाएकोले प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापनाको लक्ष्य लिएको उनले चर्चा गरे । स्वरोजगारको नाममा उपलब्ध गराउने ऋणमा रहेको झन्झटिलो प्रक्रियाले लक्षित वर्गहरु सुविधा प्राप्त गर्न नसकेको टिप्पणी गर्दै उनले भने ‘स्वरोजगारको लागि दिइने कर्जाको प्रक्रिया सहज बनाउनु जरुरी छ ।’
युवाहरुलाई रोजगारी दिन प्रदेश सरकारले सीप परियोजनासँग सम्झौता गरि कार्यक्रम चलाईरहेको जानकारी गराउँदै मुख्यमन्त्री राउतले कोषलाई समेत उक्त कार्यक्रममा सहकार्य गर्न आग्रह गरे । कोषका कार्यकारी निर्देशक डा. विष्णु प्रसाद गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख सचिव रामकृष्ण सुवेदी, युवा तथा खेलकुद मन्त्रालयका सचिव, राष्ट्रबैंक जनकपुरका प्रतिनिधि सहितको उपस्थिति थियो ।