राजविराज, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मृगौला प्रत्यारोपनको कामना गर्दै सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता भगवती शक्तिपीठमा सोमवारदेखि २४ घण्टे अखण्ड दिप प्रज्जवलन तथा धार्मिक अनुष्ठान सुरु गरिएको छ ।
नागरिक सञ्जाल सप्तरीले पहल गरेर शक्तिपीठमा २४ घण्टे अखण्ड दिप प्रज्जवलन तथा धार्मिक अनुष्ठान सुरु गराएको हो । ‘प्रधानमन्त्री केपी शर्मा ओली ज्युको मृगौला प्रत्यारोपन कार्य सफलतापूर्वक होस् तथा उहाँको अति सिघ्र स्वास्थ्य लाभको कामनासहित शक्तिपीठमा दुई दिने अखण्ड दिप प्रज्जवलन तथा धार्मिक अनुष्ठान सुरु गराएको हो’ नागरिक सञ्जाल सप्तरीका संस्थापक अध्यक्ष सुखराम यादवले भने–‘शक्तिपीठका पीठाधिस महाकान्त ठाकुरको नेतृत्वमा एक दर्जनभन्दाबढी साधुसन्तहरुको उपस्थितीमा सो धार्मिक अनुष्ठान सुरु गराएको हो।’
माता छिन्नमस्ताले प्रधानमन्त्रीलाई रक्षा गर्ने उनले विश्वास व्यक्त गरे । उता, मन्दिरका पीठाधिस महाकान्त ठाकुरले प्रधानमन्त्रीको सिघ्र स्वास्थ्य लाभ तथा दिर्घायुको कामनासहित सुरु गरिएको धार्मिक अनुष्ठान तहत दुई दिनसम्म भजन किर्तन, अष्टयाम, हवनसहित विशेष पुजापाठ गरिने बताए । ‘हामीसँगै प्रधानमन्त्रीको स्वास्थ्य लाभको लागि २४ घण्टासम्म भजन किर्तन, अष्टयाम, हवनसहित विशेष पुजापाठ गर्नेछौं’ उनले भने–‘त्यसपछि प्रसाद लिएर प्रधानमन्त्रीसमक्ष पुग्नेछौं ।’
प्रधानमन्त्री ओलीको आगामी बुधवार त्रिभुवन शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गर्ने तयारी रहेको छ । सोही अनुसार सोमवार उनलाई अस्पताल भर्ना गरिएको प्रधानमन्त्रीको प्रेस सल्लाकार सुर्य थापाले जानकारी दिएका छन ।