• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

होली पर्व आएको सन्देश प्रवाह गर्न जोगिरा (भिडियो हेर्नुहोस्)

युवाहरु पलायन भएपछि मृदङ्ग, ढोल, डम्फा बजाउनेहरुको अभाव
होली पर्व आएको सन्देश प्रवाह गर्न जोगिरा (भिडियो हेर्नुहोस्)

राजविराज, १७ फागुन । होली पर्व नजिकिएसँगै सप्तरी सदरमुकाम राजविराजमा प्रेमभावपूर्ण रुपमा गाईने जोगिरा गाउन थालिएको छ ।
वसन्त ऋतुको आगमनसँगै गाउने जोगिरा गीतले होली पर्वको आगमन भएको सन्देश प्रवाह गर्ने परम्पराअनुसार जोगिरा गाउन थालिएको हो । ‘कौन ताल पर ढोलक बाजे, कौन ताल पर मृदङ्ग, कौन ताल पर गोरिया नाचे, कौन ताल पर हम’ जोगिरा सरा… रा..रा…रा…’ मृदङ्ग तथा डम्फा बजाएर धार्मिक र आध्यात्मिक विशिष्टता, जीवनको उमङ्ग, ऊर्जा, पिरती तथा उन्मुक्ति झल्काउने खालका होली गीत जोगिरा सुनिन थालिएको छ ।
होलीको आगमन भएको गाउँदेखि शहरसम्म सन्देश प्रवाह गर्न रातिको समयमा जोगिरा गीत सुरु गरेको राजविराज नगरपालिका वडा नम्वर ७ का बद्री यादवले बताए । ‘वसन्त ऋतुको आगमनसँगै फागु पूर्णिमासम्म समूह बनाएर जोगिरा गाईन्छ’ उनले भने–‘माधुर्यता र प्रेमभावपूर्ण रुपमा जोगिरा गीत गाएर होली आएको सन्देश प्रवाह गर्न परम्पराअनुसार नै जोगिरा सुरु गरका छौं ।’
तथापी, उनीहरुलाई बढ्दो आधुनिकता र स्वदेशमा रोजगार नपाउँदा तराई मधेशका युवाहरु वैदेशिक रोजगारमा जाने क्रम बढेसँगै समूहमा युवाहरुको अभाव खट्किएको छ भने होलीको परम्परा, संस्कृति र पौराणिकतासँग युवाहरु टाडिदै गएकोले जोगिरा पनि लोप हुने अवस्थामा पुगेको प्रति उनीहरुमा चिन्ता थपिएको छ ।
‘पहिला पहिला वसन्त ऋतुको आगमनसँगै फागु पूर्णिमासम्म समूह बनाएर गाउँ–गाउँ घुमेर फागु पर्वको आगमन भएको सन्देश दिन यस्ता गीत गाउन्थे’ राजविराजकै रामकुमार यादवले भने–‘तर अब गाउँका युवा वैदेशिक रोजगारमा जाने क्रम बढेपछि गीत गाउने, मृदङ्ग र डम्फा बजाउने मानिसको अभाव खट्किएको छ ।’
बाँकी युवाहरु पनि उच्छृखल खालका गीतमा रमाउँन थालेकाले होलीको प्रेमभावपूर्ण पुराना भाकाहरु हराउँदै गएको उनको दुखेसो छ । सोहि ठाउँका छेदी यादवले उदास हुँदै भने ‘अब त प्रेमभावयुक्त गीत सुन्न दुर्लभ नै भइसक्यो, मृदङ्ग, ढोल, डम्फाको स्वर पनि सुन्न पाइँदैन ।’ उनले होलीको गीतमा पहिले धार्मिक र आध्यात्मिक विशिष्टता, जीवनको उमङ्ग, ऊर्जा, पिरती तथा उन्मुक्ति हुन्थ्यो, तर अहिले भोजपुरी तथा उच्छृखल गीत आएकाले प्रेमभाव मिसिएको होली गीत बिरलै भएको बताए ।
अहिलेको होलीमा परम्परा, संस्कृति र पौराणिकता हराइसकेको भन्दै उनले संङ्किर्णता छाएको बताए । बोदे बरसाईन नगरपालिका वडा नम्वर ३ गौराका यदुनन्दन रामले भने ‘युवाहरुको चाहना भनेको रक र रिमिक्सतर्फ छ, अब पुराना भाका खोजेर कहाँ हुन्छ र?’
गीतकार र गायकले पनि पुराना भागा जोगाउन पहल गर्नेमा जोड दिदै उनले युवाको मन छुने भाकाहरु सिर्जना गर्न सके पुरानो भागाहरु लोप हुनबाट जोगाउन सक्ने प्रक्रिया दिए । उता, मैथिली साहित्य परिषद् राजविराजका उपाध्यक्ष श्यामसुन्दर यादवले सांस्कृतिक र धार्मिक दृष्टिकोणले पनि अति महत्वपूर्ण रहेको होलीले सबै जातजातिलाई प्रभाव पारेकोले होली पर्वको मौलिकता जोगाउनेतर्फ स्थानीयदेखि संघ सरकारकासाथै सवैले ध्यान दिनुपर्नेमा जोड दिएका छन् । यस वर्ष तराई मधेशका जिल्लाहरुमा फागुन २७ गते मङ्गलवार होली पर्व मनाउँदैछ ।