Top_Header_Right_Add

जाँजरस्थित इज्तिमा स्थल अझैं दुर्गन्धित

आयोजक समिति भन्छन् ‘फोहोर व्यवस्थापनमा केही दिन लाग्छ’
जाँजरस्थित इज्तिमा स्थल अझैं दुर्गन्धित

राजविराज, १५ फागुन । लाखौं मुस्लिम समूदायलाई सहभागिता गराएर सप्तरीको बोदे बरसाईन नगरपालिकामा आयोजना गरिएको इस्लामिक धार्मिक सम्मेलन (इज्तिमा)स्थल तथा आसपास क्षेत्र दुर्गन्धित बन्न पुगेको छ ।
वडा नम्वर ५ जाँजरस्थित २ सय विघाभन्दाबढी क्षेत्रफलमा आयोजना गरिएको इज्तिमाको फोहोरलाई अझैं सम्म पूर्ण रुपमा व्यवस्थापन नगरिदा आसपासको वातावरण नै दुर्गन्धित बन्न पुगेको हो । गत फागुन ३, ४ र ५ गते आयोजना गरिएको इज्तिमा करिब ३ लाख व्यक्तिहरुलाई सहभागीता गराईएको थियो । तर, सम्मेलन सकिएको दुई साता वित्न लाग्दा समेत सम्मेलन पश्चातको फोहोर व्यवस्थापन भने अझैंसम्म पूर्ण रुपमा हुन सकेको छैन् ।
पूर्ण रुपमा फोहोर व्यवस्थापन गर्न इज्तिमा आयोजक समिति तथा स्थानीय सरकारले गम्भिरता नदेखाउँदा आसपासमा दुर्गन्ध फैलिएको छ भने आसपासमा बसोवास गर्नेहरुलाई समस्या हुने गरेको स्थानीयहरुले गुनासो गरेका छन् । ‘सरसफाई नगरिएको पनि होइन्, तर अझैंसम्म पनि पूर्ण रुपमा सरसफाई हुन नसकेको छैन्’ स्थानीय उमेशकुमार साहले भने ‘जसका कारणले यतिवेला आसपासमा दुर्गन्ध फैलिएको छ ।’
उनले सम्मेलनस्थलमा थुपारिएको फोहोरहरु सडेगलेर वातावरण नै दुर्गन्धित बनेकोले अविलम्व पूर्ण रुपमा सरसफाई गर्ने गराउनेतर्फ ध्यान पु¥याउन सम्वन्धित सवै पक्षसँग आग्रह समेत गरे ।
प्रचारमुखि भएन र, सामूहिक सरसफाई कार्यक्रम ?
पछिल्लो केही दिनअघि इज्तिमास्थलमा सरसफाई गर्न सामूहिक रुपमै प्रयास थालियो । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला सशस्त्र प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरी, भिम दल गणका पदाधिकारी र प्रतिनिधिहरुले सरसफाई कार्यमा जुटे ।
यसैगरी इज्तिमा आयोजक समिति जाँजर, सप्तरी युथ नेपाल, ग्रिन नेपाल, राजविराज जेसिस, सबल नेपाल, विवेकशिल नेपाल, नयाँ समाज विकास प्रतिष्ठान, छिन्नमस्ता विकास केन्द्र, समग्र जनउत्थान केन्द्र लगायतका दर्जनभन्दाबढी संघ संस्थाआवद्ध व्यक्तिहरुले सामूहिक रुपमा सरसफाई कार्यमा तदारुकता देखाएपनि निरन्तरता भने दिन सकेन् । उनीहरुले सुरु गरेको सरसफाई कार्य सराहनीय रहेपनि पूर्ण रुपमा सरसफाई नै नगरी आधामै छोडेको स्थानीयहरु बताउँछन् ।
‘वातावरण नै दुर्गन्धित बन्न थालेपछि उहाँहरुले सुरु गरेको सरसफाई कार्यक्रमले पूर्ण रुपमा सरसफाई हुन्छ भनेर विश्वास लिएका थियौं’ स्थानीय पप्पुकुमार यादवले भने ‘तर त्यसो भएन, प्रचारमुखी भएन र सामूहिक सरसफाई? सम्मेलनस्थलमा अझै फोहोर बाँकी नै छ भने दुर्गन्ध पनि उस्तै ।’ उता, सामूहिक सरसफाई कार्यक्रममा सहभागी भएको ग्रीन नेपालका अध्यक्ष खेलानन्द दासले सामूहिक सरसफाई गर्ने एक दिन मात्रै कार्यक्रम राखिएकोले सोहि अनुसार आफुहरु सहभागी भएर गरेको बताए । ‘सम्मेलनस्थलमा बाँकी सरसफाई बोदे बरसाईन र खडक नगरपालिकाले गर्ने कुरा थियो’ उनले भने ‘सो ठाउँमा त्यस्तो कार्यक्रम अब छैन ।’
के भन्छन् सम्वन्धित पक्ष ?
गत फागुन ३, ४ र ५ गते आयोजना गरिएको धार्मिक सम्मेलन इज्तिमामा नेपाल भारतका झण्डै तीन लाख मुस्लिम समूदायको सहभागीता थियो । सम्मेलन सकिएसँगै सो स्थलमा देखिएको फोहोरको व्यवस्थापन गर्न आफुहरुले कार्य गरिरहेको इज्तिमा आयोजक समिति जाँजरका मो.गफुरले बताए । ‘सरसफाईको कार्य निरन्तर जारी नै छ’ उनले भने ‘तथापी, सम्मेलस्थलमा अत्याधिक फोहोर भएकोले पूर्ण रुपमा सरसफाई गर्न थोरै समय लागेकै हो ।’ बाँकी फोहोर पनि ३–४ दिनभित्रै सफा गरिसक्ने उनले दावी गरे । ‘युद्ध गतिमा सरसफाई कार्य हुँदैछ’ उनले भने ‘अबको ३–४ दिनमा सवै फोहोर व्यवस्थापन गरिसक्ने हिसावले हामी काम गर्दैछौं ।’
उता, जनशक्ति र साधन अभावका कारणले पूर्ण रुपमा फोहोर व्यवस्थापन गर्न केही ढिलाई भएपनि सरसफाई कार्य जारी नै रहेको नगरपालिका कार्यालयले जनाएको छ । ‘सरसफाई कार्यलाई आफुहरुले गम्भिर रुपमा लिएर व्यवस्थापन कार्यमा लागेको हो’ वडा नम्वर ५ का अध्यक्ष मो. मजेबुल रहमानले भने ‘आफुहरुसँग जनशक्ति र साधन अभावका कारण नेपाली सेना, नेपाल तथा सशस्त्र प्रहरी लगायत जिल्लाभरि सरसफाई क्षेत्रमा कार्यरत संघ सस्थासँग समन्वय गरी सामूहिक रुपमा सरसफाई गरिरहेकै हो ।’
उनले जनस्वास्थ्यको विषयलाई समेत गम्भिरतापूर्वक रुपमा लिएर जिल्ला स्वास्थ्य कार्यालयसँगको समन्वय गरेर औषधीहरु छर्किने कार्य भईरहेको बताए । ‘बाँकी सबै फोहोर व्यवस्थापन २–४ दिनभित्रमा भईसक्नेछ’, उनले भने ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer