Top_Header_Right_Add

शुरु भयो राजविराजमा ईन्जिनियरिङ्ग भवन निर्माण प्रक्रिया

शुरु भयो राजविराजमा ईन्जिनियरिङ्ग भवन निर्माण प्रक्रिया

राजविराज, १४ फागुन । सप्तरीको राजविराज स्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा ईन्जिनियरिङ्ग भवन निर्माण प्रक्रिया अगाडि बढाईएको छ ।
क्याम्पस अन्तर्गत ईन्जिनियरिङ्ग सङ्कायको पठन–पाठनकालागि भवन निर्माण गर्न राजविराज नगरपालिका टेण्डर आह्वान गरेको छ । नगरपालिकाका सूचना अधिकृत मनोज कुमार यादवका अनुसार क्याम्पसको हाताभित्र कक्षाकोठासहित सुविधा सम्पन्न भवन निर्माण गर्नकालागि टेण्डर आह्वान गरिएको छ ।
क्याम्पसमा ईन्जिनियरिङ्गको पठन–पाठन सञ्चालन अघि नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको भवन निर्माण गर्न त्रिभुवन विश्व विद्यालय काठमाण्डौले स्वीकृति दिएपश्चात टेण्डर आह्वान गरिएको छ । उनका अनुसार यसै महिनाभित्र भवन निर्माण कार्य थालनी हुनेछन् ।
त्रिभुवन विश्वविद्यालयले ईन्जिनियरिङ्ग कलेजको भवन निर्माण सम्वन्धी मापदण्ड २०६८ अनुसार घर बनाउन स्वीकृति दिए लगत्तै क्याम्पसका प्रमुख डा. सर्वेशचन्द्र मिश्रले आवश्यक कागजात सहित भवन निर्माण कार्य अगाडि बढाउन राजविराज नगरपालिका कार्यालयका मेयर शम्भु प्रसाद यादवलाई पत्र बुझाएका थिए ।
महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस अन्तर्गत ईन्जिनियरिङ्ग सङ्काय सञ्चालन गर्न भवन निर्माणसहितका पूर्वाधारहरु तयार गर्नुपर्ने हुन्छ । डा. मिश्रका अनुसार राजविराज नगरपालिकाले कलेज सञ्चालनमा लाग्ने सम्पूर्ण खर्च उपलब्ध गराउने प्रतिवद्धता–पत्र समेत क्याम्पसलाई उपलब्ध गराईसकेको छ ।
क्याम्पसमा भवन पर्याप्त रहेकोले तत्कालकालागि अर्कोवर्षदेखि नै ईन्जिनियरिङ्गको कक्षा सञ्चालन गर्न सकिने भएकोले सबैपक्षको सकारात्मक सहयोग आवश्यक रहेको क्याम्पस प्रमुख डा. मिश्रको भनाइ छ । भौतिक पूर्वाधार निर्माण भईसकेपछि त्रिभुवन विश्वविद्यालयबाट स्वीकृति प्राप्त गरी ईन्जिनियरिङ्गतर्फको विभिन्न विषयमा अध्ययन–अध्यापन हुनेछन् ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत संसदीय क्षेत्र नम्वर २ का सांसद समेत रहेका तत्कालिन उप–प्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको अध्यक्षतामा गत कार्तिक २५ गते बसेको बैठकले भौतिक संरचना निर्माणमा सम्पूर्ण रकम खर्चिने निर्णय गरेको थियो । संसदीय क्षेत्र नम्वर २ अन्तर्गतको कुल ६ करोड रुपैयाँ यसै आर्थिक वर्षमा खर्चिने सर्वसम्मत निर्णय गरिएको थियो । क्षेत्र नम्वर २ अन्तर्गतका सांसदहरु माननीय जितेन्द्रनारायण देव, माननीय सांसद दुलारी देवी माननीय प्रमिला देवी यादव, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, स्थानीय तहका प्रमुखहरु समेतको सहमतिमा ईन्जिनियरिङ्ग कलेज सञ्चालन गर्ने सर्वसम्मत निर्णय भएको थियो ।
सप्तरीका विद्यार्थीहरु ईन्जिनियरिङ्ग पढ्न काठमाण्डौ, धरान, विराटनगर, पोखरा तथा भारतको विभिन्न सहरहरु धाउनुपर्ने बाध्यता रहेको हुँदा राजविराजमै ईन्जिनियरिङ्गको पढाई शुरुवात गर्ने उद्देश्यकासाथ सम्र्वसम्मत उक्त निर्णय गरिएको थियो । हालको संरचनामा महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस संसदीय क्षेत्र नम्वर ३ मा पर्न गएकोले उक्त क्षेत्रका सांसद चन्द्रकान्त चौधरी समेतले ईन्जिनियरिङ्ग कलेजको भवन निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer