• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीका ९७ हजार बालबालिकालाई दादुरा–रुबेला खोप

सप्तरीका ९७ हजार बालबालिकालाई दादुरा–रुबेला खोप

राजविराज, ०१ फागुन । सप्तरीमा पनि ‘राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०७६÷०७७’ सुरु भएको छ । हनुमाननगर कंकालिनी नगरपालिका–७ स्थित स्वास्थ्य चौकी हनुमाननगरमा विहिवार आयोजित एक समारोहकाबीच अभियान शुभारम्भ गरिएको छ ।
वडा नम्वर ७ का अध्यक्ष लक्ष्मी प्रसाद दास ‘बाबा’ को अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी यादव, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादव र वडाध्यक्ष दासले संयुक्त रुपमा अभियान सुभारम्भ गरेका छन ।
समारोहमा हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रकुमार यादव, डा.कमलेश यादव, स्वास्थ्य निर्देशनालयका फुलेन्द्र यादव, जनस्वास्थ्य अधिकृत विरेन्द्र यादव, स्वास्थ्य चौकी प्रमुख प्रमोदकुमार मण्डल, खोप अधिकृत दिपेन्द्रकुमार राय, स्वास्थ्य संयोजक रामकुमार यादव, सह संयोजक रामदेव यादव, राजेश्वर प्रसाद राय, राजेशकुमार यादव, बद्रीनारायण दास लगायतको उपस्थिती थियो ।
९७ हजार बालबालिकालाई खोप लगाइँदै
नेपाल सरकारले सन् २०२३ सम्ममा दादुरा र रुबेला रोग निवारण गरी सबै बालबालिकाको स्वास्थ्य रक्षा गर्ने लक्ष्य अनुसार सुरु गरिएको अभियानतहत सप्तरीमा पनि तीन चरणमा खोप कार्यक्रम थालिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख यादवले जानकारी दिएका छन ।
जसअनुसार पहिलो चरणमा फागुन १ गतेदेखि ९ गतेसम्म जिल्लाको हनुमाननगर कंकालिनी, राजविराज, सप्तकोशी र कञ्चनरुप नगरपालिका तथा महादेवा, तिरहुत र तिलाठी कोइलाडी गाउँपालिकामा सञ्चालन गरिएको छ ।
दोश्रो चरणमा फागुन ११ गतेदेखि १९ गतेसम्म डाक्नेश्वरी नगरपालिका तथा राजगढ र छिन्नमस्ता गाउँपालिकामा अभियान सञ्चालन गरिने छ भने तेश्रो चरणमा २१ गतेदेखि २९ गतेसम्म बोदे बरसाईन, खडक, शम्भुुनाथ र सुरुङ्गा नगरपालिका तथा अग्निसाईर कृष्णासवरण, बलान विहुल, रुपनी र विष्णुपुर गाउँपालिका खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख यादवले बताए । प्रमुख यादवका अनुसार फागुन महिनाभरि ९ महिनादेखि ५ वर्ष मुनिका ९७ हजार बालबालिकालाई १ हजार २ सय १५ केन्द्रमार्फत खोप लगाउन जिल्लामा स्वयमसेवक, स्थानीय सुपरभाइजर तथा जिल्ला सुपरभाइजर गरी कुल २ हजार ५ सय ८३ जना कर्मचारी परिचालित गरिएका छन् ।
एक लाख ७० बालबालिकालाई पोलियो थोपा खुवाउँदै
सप्तरीमा पाँच वर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाउन समेत विहिवारैदेखि सुरु गरिएको छ । सो कार्यक्रम अन्तर्गत सप्तरीको १८ वटै स्थानीय तहका एक लाख ७० हजार बालबालिकालाई पोलियो थोपा खुवाउने जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख यादवले जानकारी दिएका छन ।