राजविराज, २६ माघ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई बर्वाद पार्न राजपा आवद्ध केही नेताहरु नै लागि परेको बताएका छन ।
आइतवार सप्तरीको राजविराजमा आयोजना गरिएको ‘समसमायिक परिस्थिति बिषयक अन्तरक्रिया’ कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘आफ्नो पार्टी सरकारबाट बाहिर आउनुको प्रमुख कारण नै राजपा हो’ उनले भने–‘राजपाकै अडान थियो, सरकारबाट बाहिरिनु तर आफुहरु सरकार छाडेपनि अहिले आएर राजपाकै केही नेताहरु सरकारसँग नजिकिएको देखिन्छ ।’
पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले उत्पीडित मधेशी, आदीवासी, जनजाति, दलित, मुस्लिम लगायतका पछाडि पारिएका समूदायको हक अधिकार सुनिश्चितताकालागि संविधान संशोधन गराउन दुवै पार्टी एकतावद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता रहेपनि राजपाका केही नेताहरुमा दुविधा देखिएको बताए । ‘संशोधनकालागि दुवै पार्टीलाई एकतावद्ध भएर संविधान संशोधन गराउनुपर्ने आवश्यकता छ’ उनले भने–‘तर संशोधनको मुद्दातर्फ राजपाका केही नेताहरुको ध्यान पुगेको छैन्।’
नेता यादवले यस्ता प्रवृद्धिले राजपालाई नै बर्वाद पार्ने कुरामा दुईमत नरहेको बताए । ‘अरुले गरेको डिजाईनअनुसार अहिले राजपाआवद्ध केही नेताहरु पार्टीलाई नै बर्वाद गर्ने कार्यमा लागि परेका छन्’ उनले भने–‘जनताकै लागि भएपनि यस्तो प्रवृद्धिलाई अन्त्य गरिनुपर्दछ र संविधान संशोधनका निम्ति अघि बढ्नुपर्ने जरुरी छ ।’
समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा राजविराज नगरपालिकाकाका नगर प्रमुख शम्भु प्रसाद यादव, पार्टी आवद्ध नेता भिमराज यादव, निर्माण व्यवसायी संघ सप्तरीका अध्यक्ष अनेश्वर दास, सप्तरी उद्योग वाणिज्य संघका महासचिव अनन्त लाल साह, वरिष्ठ पत्रकार शिवहरी भट्टराई, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, पुर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह, नागरिक संजालका संस्थाका अध्यक्ष सुखराम यादव, कोशी पम्म चन्द्र नहरका पुर्व प्रमुख शैलेन्द्र कुमार झाले सप्तरीमा भएको वर्तमान विकासीय अवस्था तथा सम्भाव्यताबारे विचार व्यक्त गरेका छन ।
यसैगरी प्राध्यापक अमरकान्त झा, अमृत साफी, श्याम कुमार यादव, ड्ल्लु राम, राम कुमार यादव, मनोज कुमार मेहतर लगायतले समेत सप्तरीको विभिन्न समस्या र समाधानको उपायबारे विचार राखेका थिए । समाजवादी पार्टीका नेता चित्तरंजन यादवद्वारा संचालित कार्यक्रममा संघीय सदस्य किरण कुमारी यादवले स्वागत गरिन् भने मधेस प्रदेश समितिका सचिव दिनेश कुमार यादवले कार्यक्रमबारेमा प्रकाश पारे ।