राजविराज, २३ माघ । स्थानीय तहका जनप्रतिनीधिमाथि आक्रमण तथा दुव्र्यवहार भएको विरोधमा विहीबार सप्तरीका सम्पूण स्थानीय तहको कामकाज ठप्प रह्यो ।
डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख शिवनारायण साहसहितका पदाधिकारीहरुमाथि आक्रमण तथा दुव्र्यवहार भएको विरुद्धमा स्थानीय तहको कामकाज ठप्प पारिएको हो । स्थानीय तहका पदाधिकारहरुमाथि पटक–पटक आक्रमण तथा दुरव्यवहार हुन थालेपछि सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रिनु परेको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले बताए ।
‘जनप्रतिनिधीहरु जनताको सेवक भएकोले जनताको काममा जुनसुकै बेला पनि खटिनु पर्ने भएको अवस्थामा सांघातिक आक्रमण तथा दुव्र्यवहार हुन्छ भने यस्तो अवस्थामा काम अपमानित भएर काम गर्न सक्ने अवस्था छैन’ उनले भने ‘हामीलाई शान्तिपूर्ण वातावरणमा काम गर्नसक्ने अवस्था अवस्था सिर्जना होस्, दोषीलाई कार्वाही होस् ।’ यसअघि पनि बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतलाई लक्षित गरी बम विष्फोट भएका तथा छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सुर्यनारायण मण्डल ‘कुरुड’लाई कार्यकक्षमै थुनिनु लगायतका घटनाहरुले आफुहरुलाई चिन्तित तुल्याएको अध्यक्ष सिंहले ‘न्यूज टुडे’लाई प्रतिक्रिया दिए ।
जनप्रतिनिधीहरुमाथि सांघातिक आक्रमण हुनु जस्ता घटनाहरुले आफुहरुलाई चिन्तित तुल्याएको जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले बताए । घटनामा संलग्न व्यक्तिहरुमाथि तत्काल कार्वाही प्रक्रिया अगाडि नबढाइए अनिश्चितकालकालागि स्थानीय तह ठप्प पार्ने समेत उनले चेतावनी दिए । शान्ति सुरक्षाको प्रत्याभूति र दोषीलाई कार्वाही नभएसम्म आफुहरुले चरणवद्ध रुपमा कडा संघर्षमा उत्रिने उनले बताए ।
गत मङ्गलवार कार्यक्रममा सहभागी भएर कार्यालयतर्फ फर्किने क्रममा नगर प्रमुख साहमाथि एक समूहले आक्रमण गरेका हुन् । आक्रमणमा परि नगरपालिकाका स्वास्थ्य शाखा उप–संयोजक उमेश साह र ओमप्रकाश यादव घाइते भएका थिए ।