राजविराज, २३ माघ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अबको तीन महिना सङ्गठन सुदृढीकरण तथा विस्तार (विसु) अभियानलाई टोलसम्म पुर्याउन निर्देशन दिएका छन् ।
राजविराजमा विहीबार आयोजित पार्टीका अगुवा नेतृत्वकर्ताहरुको भेलालाई सम्वोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । विसु अभियानका क्रममा पार्टीद्वारा कार्यकर्ता प्रशिक्षण एवम् सदस्यता विस्तार कार्यलाई प्राथमिकताकासाथ अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।
पाटीका साथै भातृ सङ्गठनहरुलाई समेत चुस्तदुरुस्त पार्दै सङ्गठन विस्तारका क्रममा सदस्यता विस्तार एवम् प्रशिक्षण कार्यक्रमलाई जनस्तरसम्म पुर्याउन उनले निर्देशन दिए । सङ्गठनका विस्तार एवम् विस्तारका क्रममा आवश्यक व्यवस्थापन गर्न पार्टीका नेताहरुलाई निर्देशन दिँदै पार्टीका अध्यक्ष यादवले पूर्णकालिन सङ्गठक भएर परिचालित हुन नेताहरुलाई आग्रह गरेको पार्टीका प्रदेश नम्वर–२ का सचिव एवम् प्रचार–प्रसार विभाग प्रमुख दिनेश कुमार यादवले जानकारी दिएका छन् ।
विहान ९ बजे शुरु भएको उक्त भेला १२.३० बजेसम्म चलेको थियो । भेलामा मिडियालाई समेत प्रवेश दिईएको थिएन । विशेष कार्यक्रममा पार्टीकी उपाध्यक्ष एवम् सांसद रेणु यादव, पार्टीका केन्द्रिय सदस्य एवम् प्रदेश नम्वर–२ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, केन्द्रिय नेताहरु शैलेश कुमार चौधरी, अनिरुद्ध प्रसाद सिंह, विनोद चौधरी लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
पार्टीका केन्द्रिय सदस्य, संघीय परिषद् सदस्य तथा जिल्लाका अगुवा नेताहरुद्वारा राखिएको जिज्ञासाहरुको पार्टी अध्यक्ष यादवले सम्बोधन गरेका छन् ।