राजविराज, २३ माघ । समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व उप–प्रधानमन्त्री उपेन्द्र यादवले लागु औषध एवम् दुव्र्यसनीको कुलतमा लागेर यूवाहरु बर्वाद भईरहेको भन्दै त्यस्ता कुलतबाट जोगाउनुपर्नेमा जोड दिएका छन् ।
मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्वर–३ स्थित सखडेश्वरी छिन्नमस्ता भगवती शक्तिपीठको सौन्दर्यीकरण परियोजनाको बुधबार एक समारोहका बीच शिलान्यास गर्दै उनले यस्तो चिन्ता व्यक्त गरेका हुन् । भविष्यका कर्णधार मानिने यूवाहरु लागु औषध, दुव्र्यसनी लगायतका कुलतमा फँसेको बताउँदै उनले भने ‘समाज अहिले विकृतिको दलदलमा फँस्दैगएको छ, देश हाँक्ने यूवाहरु लागु औषध, मद्यपान, धुम्रपान लगायतका कुलतमा फँसेर बर्वाद हुँदै गईरहेकोले यसलाई रोक्नु जरुरी छ ।’
विकृति एवम् कुसंस्कारका कारण सप्तरीसहित मधेशका जिल्लाहरु प्रगति गर्नुको साटो पछाडि पर्दै गईरहेकोप्रति प्रमुख अतिथि यादवले चिन्ता व्यक्त गरे । ‘जिउँदोमा बा–आमा छँदा बेवास्ता गर्ने तर बितेपछि मृत्युभोज गरेर शान शौकत देखाउने प्रवृतिले प्रश्रय पाउँदै गएको छ’ उनले भने ‘मृत्युभोजमा लाखौं रुपैयाँ खर्चेर सभाभोज गर्ने कार्यलाई त्यागेर शिक्षा तथा जनकल्याण क्षेत्रमा खर्चिए समाज अगाडि बढ्ने निश्चित छ ।’ सप्तरीको विकास र समृद्धिकालागि आफु प्रयासरत रहेको भन्दै सकारात्मक सहयोगकालागि प्रमुख अतिथि यादवले जिल्लावासीसँग आग्रह गरे । 
प्रदेश नम्वर २ का मुख्यमन्त्री राउतले छिन्नमस्ता शक्तिपीठलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न आवश्यक पूर्वाधारहरु निर्माण गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । छिन्नमस्ता शक्तिपीठ प्रदेश सरकारको प्राथमिकतामा रहेको भन्दै जानकी मन्दिर सौन्दर्यीकरण पश्चात छिन्नमस्ता शक्तिपीठ लगायतका प्रदेश मुख्य स्थलहरुको पहिचान गरी कार्य अगाडि बढाएको जानकारी दिए । प्रदेश २ मा पर्यटन प्रवद्र्धन भएपछि आर्थिक समुद्धिमा समेत मदत मिल्ने मुख्यमन्त्री राउतले विश्वास व्यक्त गरे ।
कार्यक्रममा समाजवादी पार्टीकी उपाध्यक्ष एवम् पूर्व शिक्षामन्त्री रेणु यादव, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, राष्ट्रिय जनता पार्टीका महासचिव एवम् प्रदेश सभा सदस्य मनिस कुमार सुमन, प्रदेश सभा सदस्य अभिशेक यादव, पूर्व सांसद रञ्जु कुमारी झा, मुख्यमन्त्री कार्यालयका मुख्य सचिव भगवान झा लगायतले छिन्नमस्ता सखडेश्वरी भगवती शक्तिपीठको विकास हुनुपर्नेमा जोड दिए । शक्तिपीठका पीठाधीश महाकान्त ठाकुरको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तव्य छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल ‘कुरुड’, तथा सञ्चालन स्मृति मिश्राले गरिन् ।
भ्रमण वर्ष २०२० समेतलाई लक्षित गरी मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत छिन्नमस्ता शक्तिपीठ सौन्दर्यीकरण परियोजनाको शिलान्यास समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व उप–प्रधानमन्त्री उपेन्द्र यादव र मुख्यमन्त्री लालबाबु राउतले संयुक्त रुपमा गरेका हुन् । कुल ६ करोड ५० लाखको लागतमा छिन्नमस्ता शक्तिपीठ तथा पोखरी सौन्दर्यीकरण परियोजनाको निर्माण कार्य आगामी १५ महिनाभित्र सम्पन्न हुने लक्ष्य रहेको छ । उक्त परियोजनाको निर्माण कार्यको ठेक्का सुनकोसी निर्माण सेवा कम्पनीले ठेक्का लिएको छ ।
राष्ट्रिय
छिन्नमस्तामा सौन्दर्यीकरण परियोजनाको शिलान्यास
कुलतमा लागेर यूवाहरु बर्वाद भईरहेको छः अध्यक्ष यादव
नयाँ पूर्वाधार निर्माण गर्न प्रदेश सरकार प्रतिवद्धः मुख्यमन्त्री राउत