राजविराज, २१ माघ । सप्तरीको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाका १२ दलित मुसहर परिवारको घर भत्काइएको चार दिन वितिसक्दा पनि पुर्नरवास गराउनेतर्फ कसैको ध्यान पुग्न नसक्दा उनीहरुको दैनिकी कष्टकर बनेको छ ।
सप्तरी जिल्ला अदालतले गत मङ्गलवार गरेको आदेशअनुसार गत शनिवार दिउँसो सप्तरीको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाका १२ दलित मुसहर परिवार बसोवास रहेको बस्तीमा डोजर लगाएर भत्काइयो । स्थानीय रामबहादुर मण्डलले बस्ती बसेको जग्गा आफ्नो नाममा रहेको भन्दै अदालतमा गरेको रिटमाथि भएको फैसलाअनुसार मुसहर बस्ती भत्काइएपछि उनीहरु घरविहिन भएका हुन् । तीन पुस्तादेखि बसोवास गर्दै आएको बस्ती पूर्व जानकारी विना नै भत्काइएका कारण खाद्यान्न र अन्नपात समेत निकाल्न नसक्दा दलित मुहसर परिवारको दैनिकी कष्टकर बनेको हो । 
घरविहिन भएपछि बस्ती नजिकै रहेको पोखरी किनारमा त्रिपालमुनि ओत लागेका १ सयबढी दलित मुसहर समूदायलाई चिसोले सताईरहेको छ भने खानेपानीको अभावका साथै छाक टार्न समेत समस्या भईरहेको विनितादेव सदाले बताइन् । ‘पूर्व जानकारी विना नै घर भत्काइएका कारण खाद्यान्न र अन्नपात समेत निकाल्न नसक्दा अहिले छाक टार्न कठिन भयो’ उनले भनिन्–‘त्रिपाल लगाएर ओत लागेपनि रातिको बेला चिसोले सुत्न समेत पाएको छैन् ।’
बस्ती भत्काइएको विषयमा स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालय सप्तरीमा ध्यानाकर्षण गराउदाँ समेत आफुहरुको पुर्नरवास गराउनेतर्फ अझैसम्म कसैको ध्यान नपुगेको कारी सदाले गुनासो गरे । ‘भाडाकुडासहित सदरमुकाम राजविराज पुगेर सिडिओ सा’बलाई ज्ञापन पत्र वुझाए, तर अझैसम्म केही निकासा पाएको छैन्’ उनले भने–‘स्थानीय सरकारको पनि रबैया त्यस्तै छ, अब कसले विपन्नको समस्या वुझ्छन् ।’
उता, गाउँपालिका अध्यक्ष परमानन्द यादवले दलित समूदायलाई पुर्नरवासको व्यवस्था मिलाउन प्रयास अघि बढाइएको बताए । ‘पुर्नरवास गराउनकालागि चाहिने आवश्यक जग्गाको खोजी कार्य भईरहेको छ’ उनले भने–‘केहि दिनभित्रै उहाँहरुको व्यवस्थापन भईसक्छ ।’
राष्ट्रिय
घरबार विहीन १२ मुसहर परिवारको विचल्ली
माघको जाडोमा पोखरी किनारमा त्रिपालमुनि बस्न बाध्य