• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मविव क्याम्पसका आंशिक शिक्षकहरु आन्दोलित

पठनपाठन ठप्प भएपछि विद्यार्थीहरुद्वारा तोडफोड
मविव क्याम्पसका आंशिक शिक्षकहरु आन्दोलित

राजविराज, २० माघ । पठनपाठन नभएको भन्दै आक्रोशित विद्यार्थीहरुले सोमवार सप्तरीस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा तोडफोड गरेका छन् ।
आंशिक शिक्षकहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्दै कक्षा बहिस्कार गरेका कारण पठनपाठन नभएको भन्दै विद्यार्थीहरुले क्याम्पसमा कुर्सी तोडफोड गरेका हुन् । आंशिक शिक्षकहरुले त्रिभुवन विश्वविद्यालय नेपाल आंशिक प्राध्यापक संघ केन्द्रिय समितिले ‘सम्पूर्ण आंशिक प्राध्यापकलाई करार गरियोस्’ भन्ने एक सुत्रिय माग राखेर आन्दोलन थालेपछि राजविराजस्थित संघको इकाई आवद्ध आंशिक प्राध्यापकहरुले आइतवार क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्दै सोमवारदेखि कक्षा बहिस्कार गरेका थिए । उनीहरुको आन्दोलनमा क्याम्पसमा कार्यरत अन्य प्राध्यापकहरुसमेत समर्थन जनाएपछ सोमवार क्याम्पसमा पठनपाठन सञ्चालन हुन सकेको थिएन ।
प्राध्यापकहरुले आफ्नालागि गरेको आन्दोलन जायज भएपनि आफुहरुको पठनपाठन बन्द हुन नहुने भन्दै विद्यार्थी समेत आन्दोलित भएका हुन् । विभिन्न विद्यार्थी संगठनका पदाधिकारीहरुले विद्यार्थीको निर्वाध पढन पाउने हक खोसिएपछि आन्दोलनमा उत्रिनु परेको बताएका छन् ।
समाजवादी विद्यार्थी युनियनका क्याम्पस इकाइ अध्यक्ष श्याम कुमार यादवले प्राध्यापकहरुले एक सुत्रिय माग राखेको प्रति आफुहरुको आपत्ति नरहेको तर पठनपाठन रोकिदा विद्यार्थीको भविष्य नै चौपट हुने अवस्था आएको बताए । यस्तै नेपाल विद्यार्थी संघका दिपक यादवले प्राध्यापकहरुको समस्याका बारेमा सुनुवाई गरी अवस्था समान्य तुल्याउने काम नभएको भन्दै यसरी पढाइ रोकेर आफुहरु बस्न नसक्ने बताए ।
राष्ट्रिय विद्यार्थी संघ आवद्ध संजीव दासले पठनपाठन प्रभावित हुने खालका कुनै पनि क्रियाकलाप आफुहरुलाई मान्य नहुने बताए । ‘शिक्षकहरुको आन्दोलन जायज नै हो, तर पठनपाठन ठप्प पारेर आन्दोलन गर्नु जायज होइन’ उनले भने–‘यसरी शिक्षकबाटै विद्यार्थीहरुको भविष्य अन्यौलमा पार्ने काम हुनु भएन, यसतर्फ उहाँहरुले पनि ध्यान पु¥याउनुपर्ने हो ।’ कक्षा सञ्चालन हुनुपर्ने माग सहित विद्यार्थीहरुले गरेको आन्दोलन प्रति अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन लगायतले पनि ऐक्यवद्धता जनाएका छन् ।
उता, त्रिभुवन विश्वविद्यालय नेपाल आंशिक प्राध्यापक संघ महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस इकाइ समिति राजविराजका अध्यक्ष रणधिरकुमार कर्णले १५ वर्षदेखि पढाउदै आएका आंशिक प्राध्यापकहरुको भविष्य अनिश्चित बनाइएको प्रति आक्रोश पोख्दै माग पूरा नभएसम्म आन्दोलनको विकल्प नभएको बताएका छन् ।
इकाई समितिका सचिव डिल्लीराज खतिवडाले गत माघ ७ गते र १७ गते दुई पटक माग पूरा नगरिए आन्दोलनमा उत्र्न बाध्य हुने पूर्व जानकारी दिँदा समेत कुनै सुनुवाई नभएका कारण यस्तो अवस्था आएको बताएका छन् । ‘राजविराज क्याम्पसमा ३५ जना आंशिक शिक्षक अनिश्चित भविष्यका साथ पठनपाठन गराउँदै आएका छन्’ उनले भने–‘हाम्रो पटक पटकको आग्रहको सुनुवाइ अझै हुन सकेको छैन्।’
क्याम्पसमा १ हजार ६ सय विद्यार्थी अध्ययनरत रहेको अवस्थामा प्राध्यापकको आवश्यकता रहेपनि लामो समयदेखि कार्यरत आंशिक प्राध्यापकलाई करारमा लैजाने विषयमा त्रिविले चासो नदेखाएको उनको कथन छ । त्रिविका उपकुलपति समेतलाई बोधार्थ दिएर आंशिक प्राध्यापकहरुले माघ २३ गते क्याम्पसमा धर्ना दिने र अन्य आन्दोलनका कार्यक्रम पछाडि प्रकाशित गर्ने जानकारी दिएका छन् ।