राजविराज, १८ माघ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले समाजवादी र राजपा लगायतका पार्टीहरु म्याद गुज्रेको औषधी जस्तै भएकोले त्यस्तो औषधी सेवन गरे उल्टै हानी गर्ने बताएका छन् ।
सप्तरीको राजविराज स्थित राज रङ्गशालामा शनिवार आयोजित आमसभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । मधेशको नाममा राजनीति गर्ने पार्टीहरुले मधेशी जनतालाई धोका दिँदैआएको बताउँदै उनले भने ‘समाजवादी र राजपा लगायतका पार्टीहरु म्याद गुज्रेको औषधी जस्तै हो, यदी त्यस्तो औषधी सेवन गरे उल्टै हानी हानी गर्ने भएकोले त्यस्तो औषधी सेवन गरिए साइड इफेक्ट हुने निश्चित छ ।’
मलेठ घटना पश्चात समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले तत्कालीन नेकपा एमालेको विरोध गर्ने नेताहरुले नै राष्ट्रियसभाको निर्वाचनमा त्यहि पार्टीसँग सम्झौता गरेर त्यसकैलागि मत मागेको बताए । मधेश केन्द्रित पार्टीहरुप्रति जनताले विगत १३ वर्षदेखि विश्वास गर्दै आए पनि मधेश र मधेशी जनतालाई नै धोका दिएको जनमत पार्टीका अध्यक्ष डा. राउतले आरोप लगाए । नेपाली कांग्रेस, नेकपा लगायत पार्टीहरुले झन मधेशलाई चरम शोषण गर्दै आएको बताउँदै उनले भने ‘नेपाली कांग्रेस र नेकपाले नै देशमा लामो समयसम्म शासनसत्ता सञ्चालन गरेको छ तर मधेशमाथि सधै विभेद नै गर्दैआएको छ ।’
समाजवादी र राजपामा रहेका अधिकांश नेताहरु कांग्रेस–एमालेबाटै आएको चर्चा गर्दै अवसरकैलागि उनीहरुले पार्टी परिवर्तन गर्ने गरेको आरोप लगाउँदै भ्रममा नपर्न डा. राउतले आग्रह गरे । मधेशको नाममा राजनीति गर्न आएका चप्पल लगाएर आएका नेताहरु हाल करोडौंको मालिक भएको उनले बताए । मधेश चरम भ्रष्टाचारको दलदलमा फँसेको चर्चा गर्दै उनले भने ‘मधेशको नाममा नेताहरुले लुट मच्चाएको छ, विस्तारै सबैको फाइल खुल्दै जानेछ र सजाय भोग्नुपर्ने निश्चित छ ।’
नेकपाले महरालाई, कांग्रेसले अफताबलाई र राजपाले रेशम चौधरीलाई संरक्षण गर्न नसकेकोले पार्टीले मधेशीलाई कहिले पनि संरक्षण नगर्ने बताउँदै राजनीतिक दलहरूको उनले कडा आलोचना गरे । राजनीतिक पार्टीहरु खिया लागेको कबाडी जस्तै भएको भन्दै इन्जिन बिग्रेको कबाडी गाडीको कुनै भरोसा नरहेको डा. राउतले व्यंग्य गरे ।
पार्टीकाे सप्तरी संयाेजक चन्देश्वर मण्डल (किसान) काे अध्यक्षतामा आयोजित आमसभामा पार्टीका केन्द्रिय सदस्य अब्दुल खान, गैर आवासीय मधेशी संघका मदनेश्वर चौधरी लगायतले सम्बोधन गरे । कार्यक्रममा स्वागत मन्तव्य केन्द्रीय सदस्य तथा सप्तरीका इन्चार्ज सुरेन्द्र मधेशीले गरे । आमसभा अघि राजविराजमा वृहत प्रदर्शन समेत गरिएको थियो ।
कार्यक्रममा कलाकारहरुद्वारा मधेशको संस्कृति झल्किने नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । आमसभामा व्यापक जनसमुदायको सहभागिता रहेको थियो ।

राष्ट्रिय
राजनीतिक पार्टीहरु म्याद गुज्रेको औषधी जस्तै होः डा. राउत
राजविराजमा जनमत पार्टीको विशाल आम सभा