• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

समाजवादीको बिसु अभियान आन्दोलनको तयारीः मन्त्री साह

समाजवादीको बिसु अभियान आन्दोलनको तयारीः मन्त्री साह

राजविराज, १८ माघ । समाजवादी पार्टीका नेता एवम प्रदेश नम्बर २ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले समाजवादी पार्टीद्वारा शुरु गरेको तीन महिने बिसु अभियान भावी आन्दोलनको तयारी भएको बताएका छन् ।
सप्तरीको राजविराजमा शनिबार आयोजित समाजवादी पार्टी जिल्ला समवन्य समिति घोषणा तथा तीन महिने बिसु अभियान तयारी बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै मन्त्री साहले मधेस बिद्रोह, आदिवासी जनजाति लगायतका विभिन्न आन्दोलनको बलमा प्राप्त उपलब्धि खतरामा परेको बताए । वर्तमान नेकपा नेतृत्वको सरकारले बहुमतको दम्भ देखाएर उत्पीडित समुदायले पाएको अधिकार लुट्दै गएको उल्लेख गर्दै मन्त्री साहले भने ‘सङ्गठन बिस्तार तथा सुदृढीकरण (बिसु) अभियान प्राप्त अधिकार रक्षा तथा बाँकी अधिकार सुनिश्चित गर्न आन्दोलनको तयारी हो ।’
बिसु अभियानमा लाग्न निर्देशन दिदै अभियानका सप्तरी संयोजक समेत रहेको नेता साहले अभियानबाटै नेताकार्यकर्ताको मुल्यांकन हुने बताए । बिसु अभियानमा समय दिन नसक्ने पार्टी नेता हुन नस्क्ने बताउदै उनले भने, तीन महिने अभियानमा सक्रिय हुन नेताकार्यकर्तालाई आग्रह गरे ।
मन्त्री साहले प्रदेश नम्बर २ को सरकार जनादेशको कदर गर्दै अघि बढेको जिकिर गरे । प्रदेश २ सरकारले मधेसी, आदिवासी जनजाति, थारु, मुस्लिम, दलित, महिलालाई अधिकार बिहिन पार्ने संघीय सरकारको योजनालाई सफल हुन नदिएको दाबी गरे । मन्त्री साहले सोही कार्यक्रममा केदार प्रसाद यादवको अध्यक्षतामा गठित ७२ सदस्य समाजवादी पार्टी सप्तरीको घोषणा समेत गरे ।
पुर्व संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल बिच समायोजन भई नवघोषित समिति लाई मन्त्री साहले सोही कार्यक्रममा सपथग्रहण गराए । सपथग्रहण पश्चात् तत्काललै बसेको समाजवादी पार्टीको बैठकद्वारा माघ २१ गते सप्तरीमा बिसु अभियानको उद्वघाटन गरि तिब्रता दिने निर्णय गरेको जनाएको छ ।
समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रिय सदस्यद्वोय शैलेश चौधरी, भिमराज यादव, संघीय परिषद सदस्यद्वय डम्बर साह, गुणानन्द चौधरी, मधेस प्रदेश समितीका सदस्य एवम् सप्तरी जिल्ला ईन्चार्ज सत्यनारायण यादव, सदस्यहरु भिम बहादुर तामाङ, अमृत साफी, ताज महमद, नेता सकिल मियाँ सहितका नेताहरूको उपस्थिति रहेको थियोे । कार्यक्रमको सञ्चालन जिल्ला सदस्य बृजमान तामाङले गरे ।