• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजविराज विमानस्थलमा बुद्ध एयरको दैनिक उडान सुरु

राजविराज विमानस्थलमा बुद्ध एयरको दैनिक उडान सुरु

राजविराज, १८ माघ । पर्यटन वर्ष २०२० लाई लक्षित गरी सप्तरीस्थित ‘राजविराज विमान स्थल’बाट शनिवारदेखि दैनिक उडान सेवा सुरु भएको छ ।
बुद्ध एयरलायन्सको ९ एन.ए.जे.ओ.नम्वरको ७२ सिट क्षमता भएको विमानले दैनिक उडान सेवा सुरु गरेको हो । वि.स. २०१६ सालमा शिलान्यास भएर ठप्प रहँदै आएको राजविराज विमानस्थलको गत जेष्ठमा तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले उद्घाटन गरेका थिए । विमानस्थलको उद्घाटनसँगै श्री एयरलायन्सले साताको तीन दिन उडान भर्दै आएको थियो । यात्रुहरुको बढ्दो चाप तथा पर्यटन वर्ष २०२० लाई लक्षित गरी बुद्ध एयरलायन्सले दैनिक उडान सेवा थालिएको बुद्ध एयरलायन्सका व्यवस्थापक प्रदिप कटवालले बताएका छन् ।
हाललाई दुई हजार ५ सय रुपैयाँ न्यूनतम भाडादर कायम गरेर उडान सेवा सुरु गरिएको व्यवस्थापक कटवालले जानकारी दिए । राजविराज विमानस्थलमा दैनिक उडान सेवा सुरु भएसँगै यहाँका यात्रु तथा व्यवसायीहरु हर्षित भएका छन् ।
शनिवार पहिलो चोटी राजविराज विमानस्थलमा बुद्ध एयरको विमान अवतरण हुँदा सप्तरी उद्योग वाणिज्य संघद्वारा एयरलान्यसका कर्मचारी तथा यात्रुहरुलाई स्वागत गरिएको छ । संघका अध्यक्ष अरुणकुमार प्रधानको नेतृत्वमा विमानस्थलमै पुगेर राजविराज नगरपालिकाका जनप्रतिनिधि, नागरिक समाज, व्यापारी लगायत स्थानीय संघ संस्थाकातर्फबाट उनीहरुलाई स्वागत गरिएको हो ।
एक हजार पाँच सय मिटर लामो तथा ३० मिटर चौडा पक्की रन–वे, ६० मिटर चौडाई तथा ९० मिटर लामो एप्रोन रहेको राजविराज विमान स्थलमा १ सय १० मिटर लामो तथा २० मिटर चौडा ट्याक्सी–वे रहेको छ ।