राजविराज, १६ माघ । शहिद दिवसको अवसरमा सप्तरीका स्थानीय तह कर्मचारी शहिद प्रभुनारायण यादवको शालिकमा विहीबार माल्यार्पण गरिएको छ ।
समितिको कार्यालय परिसरमा रहेको शालिकमा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले माल्यार्पण गर्दै कर्मचारी शहिद यादवको व्यक्तित्वबारे चर्चा गरे । समन्वय समितिमा कार्यरत रहँदा उनले कर्तव्यनिष्ठ भएर जिम्मेवारी वहन गरेको भन्दै वर्तमान अवस्थामा कर्मचारीहरुले पाठ सिक्नुपर्ने समन्वय समितिका प्रमुख यादवले बताए ।
उक्त अवसरमा राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश कुमार झा, जिल्ला समन्वय समितिका निमित्त कार्यालय प्रमुख नवराज खड्का, ई. किशोर साह, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव लगायतले कर्मचारी शहिद यादवको व्यक्तित्वबारे चर्चा गरे । सोही अवसरमा शहिदपुत्र राधेश्याम यादवले बुवाको नाममा सरकारी स्तरबाट ठोस कार्य हुन नसकेको भन्दै व्यक्तिगत तवरबाट आफुले वहाँको योगदानलाई जिवन्त राख्न प्रयासरत रहेको जानकारी दिए ।
तत्कालिन जिल्ला विकास समिति राजविराज स्थित कार्यालयको काम सकेर नायव सुब्बा पदमा कार्यरत कर्मचारी यादवको २०६४ साल कार्तिक १२ गते राजविराज–हनुमाननगर सडकखण्ड अन्तर्गत खाँडो खोला पुल नजिक अज्ञात समूहद्वारा गोली हानी हत्या गरिएको थियो । शहिद यादवको स्मृतिमा जिल्ला समन्वय समितिद्वारा पार्क सहितको शालिक निर्माण गरिएको छ ।