• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

वस्तीमै पुगेर सेवा दिन मुख्य न्यायाधिवक्ताको निर्देशन

वस्तीमै पुगेर सेवा दिन मुख्य न्यायाधिवक्ताको निर्देशन

राजविराज, १५ माघ । प्रदेश नम्वर–२ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले मुसहर, डोम लगायतका विपन्न एवम् पछाडि परेका समुदायको न्यायमा सहज पहुँच भए मात्र कानूनी सहायता कार्यालय स्थापनाले सार्थकता पाउने बताएका छन् ।
सप्तरीको राजविराज नगरपालिका वडा नम्वर–६ मा बुधबार प्रदेश कानूनी सहायता अधिकृतको कार्यालय उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । सर्वसाधारण जनतालाई न्यायमा सहज पहुँच पुर्याउने उद्देश्यका साथ प्रदेशका आठ ओटै जिल्लाहरुमा प्रदेश कानूनी सहायता अधिकृतको कार्यालय सञ्चालन गर्न लागिएको बताउँदै उनले भने ‘ग्रामिण वस्तीका मुसहर, डोम लगायतका विपन्न एवम् पछाडि परेका समुदायले निःशुल्क कानूनी सहायता प्राप्त गरी न्यायमा सहज पहुँच भए मात्र कानूनी सहायता कार्यालय स्थापनाले सार्थकता पाउने छ ।’ निःशुल्क कानूनी सेवाको विषयमा अझैं सर्वसाधारणमा जानकारीको अभाव रहेको तथा विश्वसनीयतामा समेत कमी रहेकोले गाउँ वस्तीमै पुगेर सेवा दिन समेत उनले निर्देशन दिए ।
मुख्य न्यायाधिवक्ता कार्यालयको मातहतमा रहने जिल्ला स्थित कार्यालयहरुबाट असहाय, अशक्त, नाबालक, महिला, दलित, मुस्लिम एवम् विपन्नकालागि प्रदेश सरकारले निःशुल्क कानूनी सहायता प्रदान गरिने बताउँदै उनले भने ‘न्यायको पहुँबाट कोही पनि वञ्चित नहोस् भन्ने उद्देश्यले कानूनी सहायता अधिकृतको कार्यालय सञ्चालनमा ल्याईएको हो ।’ कानूनी सेवाबारे समुदायमा व्यापक सचेतना जगाउनुपर्ने आवश्यकता रहेको बताउँदै मुख्य न्यायाधिवक्ता झाले यसकालागि सबैपक्षले सकारात्मक सहयोग हुनुपर्नेमा जोड दिए । यस अघि पनि निःशुल्क कानूनी सहायताको सुविधा उपलब्ध रहे पनि अपेक्षाकृत लक्षितवर्ग लाभान्वित हुन नसकेकोले प्रदेश सरकारले जिल्लाहरुमा समेत आफ्नो संयन्त्र मार्फत सर्वसाधारणलाई सेवा पुर्याउने उद्देश्यले कार्यालय सञ्चालनमा ल्याईएको उनले बताए ।
कानूनी सहायता अधिकृत अधिवक्ता किरण कुमारी साहको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा जिल्ला न्यायाधीश चन्द्रमणी ज्ञवाली, राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, राजविराज उच्च बारका अध्यक्ष रामानन्द साह, सप्तरी जिल्ला बारका अध्यक्ष डोमन साह, जिल्ला बारका पूर्व अध्यक्ष केशव दास, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, कञ्चनरु नगरपालिकाका उपमेयर निरु पोखरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । उक्त अवसरमा विभिन्न क्षेत्रसँग सम्वन्धित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।