वीरगञ्ज, १५ माघ । क्रियाशिल महिला पत्रकार विमला गुप्ताले बुधबार नेपाल पत्रकार महासंघ पर्सा शाखाको नयाँ सदस्यताबाट वञ्चित गराउने षडयन्त्र भईरहेको भन्दै क्रियाशिल पत्रकारलाई सदस्यता प्रदान गर्न महासंघको ध्यानाकर्षण गराएकी छिन् ।
कृयाशील पत्रकारहरुको तर्फबाट महिला पत्रकार गुप्ताले महासंघका अध्यक्ष श्याम बन्जारालाई अल्टीमेटम सहित ध्यानाकर्षण पत्र बुझाएकी छिन् । ध्यानाकर्षण पत्रमा महासंघ पर्सा शाखालाई तीन दिनभित्र जिल्लाबाट कृयाशील रुपमा पत्रकारिता गर्ने पत्रकारहरुलाई सदस्यता प्रदान गर्न माग गरिएको छ ।
ध्यानाकर्षण पत्रमा महासंघ पर्सा शाखाले लामो समयदेखि जिल्लाबाट निरन्तर रुपमा पत्रकारिता गर्ने कृयाशील पत्रकारहरुलाई महासंघको सदस्यताबाट वञ्चित गरेको जानकारी गराउँदै माघ ७ गते बसेको बैठकको निर्णयबाट नयाँ सदस्यता आवेदन खुल्ला गरिएकोमा धन्यवाद दिईएको छ । यद्यपी खुल्ला गरिएको सदस्यता आवेदन मार्फत नयाँ सदस्यताको लागि पर्साका कृयाशील पत्रकारहरुले विधान बमोजिम सबै प्रकृया पुरÞ्याई निवेदन दर्ता गराएको भए पनि हाल आएर विभिन्न बहानामा सदस्यताबाट वञ्चित गराउने षडयन्त्र भईरहेको भन्दै महासंघको बिधान अनुसार मापदण्ड पुगेका कृयाशील र पत्रकारिता पेशामात्र गरेका श्रमजिवीहरुलाई सदस्यता उपलब्ध गराउन जोडदार माग गरिएको छ । सम्पुर्ण क्रियाशिल पत्रकारहरुको तर्फबाट उल्लेख गरीएको मांगलाई वेवास्ता गरिए आगामी दिनमा कडा आन्दोलन गरिने र यसको जिम्मेवार पत्रकार महासंघ पर्सा शाखा हुने चेतावनी दिईएको छ ।
यता महासंघका अध्यक्ष श्याम बन्जाराले ध्यानाकर्षण पत्र बुझ्दै भने विधानले गरेको व्यवस्था अनुसार सदस्यता दिनको लागि प्रकृया अगाडी बढाईसकेको र आफु कृयाशिल पत्रकारको हितमा सधै सकारात्मक सोचका साथ अगाडि बढेको बताए । साथै उनले यस कार्यको लागि छानबिन समिति समेत निर्माण गरिसकेको र समितिलाई सहजिकरण गरी दिन प्राप्त भएका सदस्यता आवेदन फारम हस्तान्तरण गरिसकेकोले समितिले निष्पक्ष छानबिन गरि योग्य, कृयाशील पत्रकारलाई सदस्यता दिने प्रति आशंका नगर्न विश्वास दिलाए । उनले आफ्नो कार्यकालमा जिल्लाका कार्यरत कृयाशील पत्रकार सदस्यताबाट बञ्चित नहुने प्रतिवद्धता जनाए ।