जनकपुरधाम, १५ माघ । प्रदेश नम्वर २ को सरकार र डिफिडको सहयोगमा सञ्चालित सिप परियोजना बीच अगामी ३ वर्ष भित्र ४५ हजार युवालाई रोजगार दिने भएको सम्झौता अनुरुप पुर्वाधार निर्माणको क्रम शुरु भएको छ ।
गत साउन महिनामा भएको सम्झौता अनुरुप विभिन्न सेवा प्रदायक संस्थाले प्रतिवद्धता अनुरुपको रोजगार सृजना गर्ने कार्य थालनी गरेको हो । मोरङ्ग अटो वक्र्सले जनकपुरमा जेसिवी तालिम सेन्टरको शुभारम्भ गरेको छ भने रोजगारी पसलले यस अघि नै प्रदेश नम्वर २ को विभिन्न स्थानमा घुम्ती रोजगारी पसल सञ्चालन गर्दै वेरोजगार युवाहरुको लगत संकलन गरि रोजगार उपलब्ध गराउने काम शुरु गरि सकेको छ ।
मोरङ्ग अटो वक्र्सको तालिम केन्द्रको शुभारम्भ गर्दै मुख्यमन्त्री राउतले प्राविधिक युगमा सिप विना रोजगारी खोज्नु रेगिस्तानमा पानी खोज्नु सरह हुने भएकोले प्रदेश सरकार युवाहरुलाई प्रविधिमा पहुँच बनाउन यस्ता कार्यक्रमहरुको थालनी गरेको बताए । सिप परियोजनाका साझेदार संस्था लेवल स्टेपले पनि सर्लाहीको हरिवनमा गलैचा बनाउने तालिमको शुरुवात गरिसकेको छ भने एसविआई बैंकले वैदेशिक रोजगारीमा जाने युवाहरुकोलागि आजैबाट सहुलियत ऋण उपलब्ध गराउने कार्यको शुभारम्भ गर्दै छ । यसैगरी प्रभु बैंकले भोलीबाट यो योजना शुरुवात गर्ने सिप परियोजनाका साविस अन्सारीले जानकारी दिए ।
युवा युवतीहरुलाई प्रविधिमा पहुँच बनाउँदै रोजगार बनाउने योजना अनुरुप युके एडकै सहयोगमा प्रविधिमा महिला भन्ने कार्यक्रमको समेत जनकपुरबाट शुभारम्भ भएको छ । उक्त कार्यक्रमको समेत मुख्यमन्त्री लालबाबु राउतले शुभारम्भ गर्दै युवतीहरुलाई प्रविधिमा पहुँच बढाउनुपर्नेमा जोड दिए ।
यता युके एडकै सहयोगमा जनकपुरलाई क्यासलेस बनाउने योजना अनुरु आइमईको सहयोगमा पैसा कार्डको समेत शुभारम्भ भएको जनाईएको छ ।