राजविराज, ९ माघ । प्रदेश नम्वर २ मा राष्ट्रियसभा सदस्य पदकालागि विहिवार भएको मतदानको परिणामअनुसार राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गठबन्धनका सवै उम्मेदवार विजयी भएका छन् ।
निर्वाचन कार्यालयका अनुसार राजपा र नेकपा गठबन्धनका उम्मेदवारहरु नेपाल कम्युनिष्ट पार्टीकोतर्फबाट तुलसाकुमारी दाहाल (महिला), सोही पार्टीका राधेश्याम पासवान (दलित), राष्ट्रिय जनता पार्टी नेपालका शेखरकुमार सिंह (अल्पसंख्यक) र सोही पार्टीका मृगेन्द्रकुमार सिंह यादव (अन्य) विजयी भएका हुन् । महिला समूहतर्फकी दाहालले नेपाली काँग्रेसकी नगिना यादवलाई पराजित गर्दै विजयी भएकी छिन् । दाहालले ५ हजार २ सय ८ मतभार प्राप्त गरेकी छिन् भने यादवले ४ हजार ७ सय ४० मतभार प्राप्त गरेको निर्वाचन अधिकृत राजकुमार खतिवडाले जानकारी दिएका छन् ।
दलित समूहतर्फका गठबन्धनतर्फबाट उम्मेदवार रहेका पासवानले समाजवादी पार्टीका उम्मेदवार रामपृत पासवानलाई पराजित गरेको छ । गठबन्धनतर्फबाट उम्मेदवार रहेका पासवानले ५ हजार २ सय ९२ मतभार प्राप्त गरेका छन् भने रामपृतले ४ हजार ७ सय ४ मतभार प्राप्त गरेको जनाएको छ । अल्पसंख्यक समूहतर्फ गठबन्धनतर्फबाट उम्मेदवार रहेका राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार शेखरकुमार सिंहले नेपाली काँगे्रसका उम्मेदवार भोला पञ्जियारलाई पराजित गरेको छ । सिंहले ५ हजार ५ सय २ मतभार प्राप्त गरेका छन् भने पञ्जियारले ४ हजार ५ सय १२ मतभार प्राप्त गरेका हुन् ।
यसैगरी अन्य समूहतर्फ पनि गठबन्धनकै उम्मेदवार विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । गठबन्धनकोतर्फबाट राष्ट्रिय जनता पार्टी नेपालबाट उम्मेदवार रहेका मृगेन्द्रकुमार सिंह यादव विजयी भएका हुन् । सिंहले ५ हजार ४ सय मतभार प्राप्त गरेको जनाएको छ । यसैगरी अन्य समूहतर्फबाट उम्मेदवार रहेका समाजवादी पार्टीका अनिरुद्धकुमार सिंहले ४ हजार ५ सय १२ मतभार प्राप्त गरेका हुन् ।
जनकपुरधामस्थित महेन्द्र नारायण निधि सांस्कृतिक केन्द्रमा विहान १० बजेदेखि भएको मतदानमा एक सय ७ जना प्रदेशसभा सदस्य तथा दुई सय ७२ जना स्थानीय तहका प्रमुख र उपप्रमुख गरी कूल ३ सय ७९ जनाले मतदान गरेका थिए । राष्ट्रियसभा निर्वाचन कार्य तालिकाअनुसार विहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ४ बजे सकिएको थियो ।
महेन्द्र नारायण निधि सांस्कृतिक केन्द्रमा सुरु भएको मतदान अन्तर्गत मुख्यमन्त्री लालबाबु राउतले पहिलो मत खसालेको थियो भने सप्तरी बोदे बरसाईन नगरपालिकाका मेयर आतेशकुमार सिंहले अन्तिम मत खसालेको निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी गराएका छन् । निर्वाचन अधिकृत खतिवडाका अनुसार एक सय ७ जना प्रदेशसभा सदस्य तथा दुई सय ७२ जना स्थानीय तहका प्रमुख र उपप्रमुख गरी कूल ३ सय ७९ जनाले मतदान गरेका छन् ।