जनकपुरधाम, ०९ माघ । प्रदेश नम्वर २ मा राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत विहिवार शान्तिपूर्ण मतदान सकिएको छ । निर्वाचन कार्य तालिकाअनुसार विहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ४ बजे सकिएको हो ।
महेन्द्र नारायण निधि सांस्कृतिक केन्द्रमा सुरु भएको मतदान अन्तर्गत मुख्यमन्त्री लालबाबु राउतले पहिलो मत खसालेको थियो भने सप्तरी बोदे बरसाईन नगरपालिकाका मेयर आतेशकुमार सिंहले अन्तिम मत खसालेको निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी गराएका छन् ।
निर्वाचन अधिकृत खतिवडाका अनुसार एक सय ७ जना प्रदेशसभा सदस्य तथा दुई सय ७२ जना स्थानीय तहका प्रमुख र उपप्रमुख गरी कूल ३ सय ७९ जनाले मतदान गरेका हुन् । मतदान सकिएसँगै मतगणना कार्य थालिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
राष्ट्रियसभा सदस्यकालागि भईरहेको निर्वाचनमा महिला समूह अन्तर्गत एक पदकालागि नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट तुलसाकुमारी दाहाल तथा नेपाली काँग्रेसको तर्फबाट नगिना यादवबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी दलित समूहतर्फ नेपाल कम्युनिष्ट पार्टीका राधेश्याम पासवान र समाजवादी पार्टीका रामपृत पासवान प्रतिष्पर्धामा छन् ।
अल्पसंख्यक समूह अन्तर्गत नेपाली काँगे्रसबाट भोला पञ्जियार र राजपाबाट शेखरकुमार सिंह प्रतिस्पर्धामा छन् भने अन्य समूहतर्फ समाजवादीका अनिरुद्धकुमार सिंह र राजपाका मृगेन्द्रकुमार सिंह चुनावी मैदानमा छन ।