• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राष्ट्रिय सभा निर्वाचनको तयारी पुरा, नेकपा–राजपा र कांग्रेस–समाजवादी बिच प्रतिष्पर्धा

राष्ट्रिय सभा निर्वाचनको तयारी पुरा,  नेकपा–राजपा र कांग्रेस–समाजवादी बिच प्रतिष्पर्धा

राजविराज, ७ माघ । आगामी माघ ९ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा प्रदेश नम्वर २ मा समेत आवश्यक तयारीहरु पुरा भएको छ ।
जनकपुरस्थित महेन्द्र नारायण निधि संस्कृति केन्द्रमा स्थानीय तहका मतदाता र प्रदेशसभा सदस्यकालागि छुट्टै मतदान केन्द्र राखिएको छ । निर्वाचन अधिकृत राजु खतिवडाका अनुसार राष्ट्रियसभा सदस्य पदको निर्वाचन सम्पन्न गराउन २५ जना कर्मचारी परिचालन गरिने छ ।
राष्ट्रिय सभा निर्वाचनमा खटिने कर्मचारीहरुलाई तालिम समेत दिईएको छ । मतदानकालागि विहान १० बजेदेखि ४ बजेसम्म तोकिएको छ । निर्वाचनमा प्रदेश नम्वर २ का प्रदेशसभा सदस्य, नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरु मतदाता हुने प्रावधान छ । निर्वाचन अधिकृत खतिवडाका अनुसार प्रदेशसभा सदस्य १०७, स्थानीय तहका नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष २७२ जना समेत गरी कूल ३ सय ७९ जना मतदाता रहेका छन् ।
चुनावमा नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टी गठबन्धनबाट महिलातर्फ नेकपाकी तुलसा कुमारी दाहाल, नेकपाबाटै दलिततर्फ राधेश्याम पासवान, राजपाबाट अन्य समूहबाट मृगेन्द्र कुमार सिंह र अल्पसंख्यकबाट शेखर कुमार सिंह चुनावी मैदानमा उत्रेका छन् । यसैगरी नेपाली कांग्रेस र समाजवादी गठबन्धनबाट महिलातर्फ नेपाली कांग्रेसकी नगिना यादव र अल्पसंख्यकतर्फ भोला पञ्जियार चुनावी प्रतिष्पर्धामा उत्रेका छन् । यसैगरी समाजवादी पार्टीबाट अन्यतर्फ अनिरुद्ध कुमार सिंह तथा दलिततर्फ रामपृत पासवान उम्मेदवार छन् ।