राजविराज, ६ माघ । आगामी माघ ९ गते हुन लागेको राष्ट्रियसभा चुनावमा नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल गठबन्धनबाट उम्मेदवार बनेका शेखर प्रसाद सिंहको उम्मेदवारी मनोनयन खारेजको माग गर्दै उजुरी परेको छ ।
धनुषाको सबैला नगरपालिका वडा नम्वर–१० निवासी राष्ट्रिय सभा सदस्यका उम्मेदवार भोला पंजियारले निर्वाचन अधिकृतको कार्यालय प्रदेश नम्वर २ धनुषाका निर्वाचन अधिकृत राजुकुमार खतिवडासमक्ष उजुरी उजुरी दिएका हुन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर–४ निवासी सिंह राजपाबाट अल्पसंख्यकतर्फ राष्ट्रिय सभा सदस्य पदमा उम्मेदवारी दिई चुनावी मैदानमा उत्रेका छन् ।
राष्ट्रिय जनता पार्टीका वरिष्ठ उपाध्यक्ष समेत रहेका सिंहमाथि सप्तरी जिल्ला अदालतबाट २०४४ साल साउन ३० गते कुटपीट अंगभंग मुद्दामा दुई वर्ष कैद र जरिवाना फैसला भएकोमा उक्त फैसला तात्कालिन सगरमाथा अञ्चल अदालतबाट सदर भई सर्वोच्च अदालतबाट सदर भई अदालतको पूर्ण ईजलाशको २०५६ पुस १ गतेको आदेशबाट पुनरावलोकनको निस्सा भई अन्तिम भएको उजुरीमा दावी गरिएको छ । अदालतको फैसलाले कैद लागेका व्यक्तिले अदालतको फैसलालाई सम्मान गरि भुक्तान गर्नुपर्नेमा निजले हालसम्म भुक्तान नगरेको पंजियारले निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गराएको उजुरीमा उल्लेख छ ।
यता राष्ट्रिय सभा सदस्य पदका उम्मेदवार सिंहमाथि लगाईएको आरोपको विषयमा सप्तरी जिल्ला अदालतले पुनरावेदन अदालत राजविराजलाई पठाएको मिति २०५५।०३।११ मा चलानी नम्वर ९९६० को पत्रमा उल्लेख भए अनुसार कैद जरिवानाको लगत कट्टा भईसकेको उल्लेख छ । वादी सिंह तथा विपक्षी चित्रा पन्त समेत भएको सा.दे.न. ३८६६ को लिखत दर्ता बदर मुद्दाबाट देखिएको २०४७ ।०३।०७ गतेमा सिंह समेतलाई सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चको फैसलाले लागेको कैद दिन ९ र जरिवाना रु. ६ यस अदालतमा नकाटिएको सन्दर्भमा सम्वन्धित कुटपीट मुद्दाको सक्कल मिसिल सर्वोच्च अदालतमा गईसकेकोले सो कैद लागे नलागेको बारेमा सर्वोच्च अदालतमा जवाफ मगाउन सोधी पठाएको र वादी देवनारायण चौधरी प्रतिवादी सिंह भएको कुटपीट मुद्दामा यस अदालतमा कसिएको लगतबाट देखिएको सप्तरी अदालतको फैसलाले लागेको कैद २०५५।०२।१५ मा बसेको समितिको निर्णयले लगत कट्टा भएको हुँदा सोही अनुसार जवाफ पठाईएको पत्रमा लेखिएको छ ।
निर्वाचन अधिकृतको कार्यालय प्रदेश नम्वर २ धनुषाका निर्वाचन अधिकृत खतिवडा समक्ष परेको उजुरीको सम्वन्धमा राष्ट्रिय सभा सदस्यका उम्मेदवार सिंहले चुनावको अन्तिम समयमा आफुमाथि परेको उजुरीले मतदातालाई भ्रमित पार्ने षडयन्त्र भएको दावी गरेका छन् । आफुमाथि लागेको कैद दिन ९ र जरिवाना रु. ६ को लगत अदालतमा कट्टा भईसकेकोले सोको प्रमाण आफुसँग सुरक्षित रहेको उनले बताए ।
पंजियारले निर्वाचन अधिकृतको कार्यालय प्रदेश नम्वर २ धनुषामा दिएको उजुरीको विषयमा निर्वाचन अधिकृत राजुकुमार खतिवडासँग प्रतिक्रिया लिन पटक–पटक मोबाइलमा फोन गर्दा उठेन ।
