• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

कष्टकर, अभाव र अँध्यारो संसारमा संघर्षरत भोल्वीदेवी मोची

‘एउटी वेसहारा दृष्टिविहिन आमालाई सन्तान हुर्काउन, बढाउन र पढाउन माग्ने बाहेकको विकल्प नै छैन्, तर अहिले ठण्डी कारण हिलडुल गर्न नसक्दा एक छाक खाएर दैनिकी चलाउने बाध्यता छ ।’
कष्टकर, अभाव र अँध्यारो संसारमा संघर्षरत भोल्वीदेवी मोची

विद्यानन्द राम
राजविराज, ०३ माघ । ‘अँध्यारो यो संसारमा मागेर दिन काटिरहेकालाई कष्ट र अभावबारे नसोधिदिनुस्, बाबू’ उनी आँखाभरि आँसु पार्दै भनिन्–‘एउटी वेसहारा दृष्टिविहिन आमालाई सन्तान हुर्काउन, बढाउन र पढाउन माग्ने बाहेकको विकल्प नै छैन्, तर अहिले ठण्डी कारण हिलडुल गर्न नसक्दा एक छाक खाएर दैनिकी चलाउने बाध्यता छ ।’ यो पीडा भने सप्तरीको बोदे बरसाईन नगरपालिका–४ सिल्हटकी ५२ वर्षीया भोल्वीदेवी मोचीको हो ।
उसो त दृष्टिविहीनको दिनचर्या कस्तो होला? सहजै अनुमान लगाउन सकिन्छ, ‘कष्टकर, अभाव र अँध्यारो संसारमा संघर्षरत ।’ यस्तै अभाव र संघर्षसँग जुध्दैआएकी भोल्वीदेवीले गाउँले र छिमेकीको सहयोगले सन्तानसँगै आफ्नो जीवन काटिरहेकी छिन् ।
जन्मिएदेखि दृष्टिविहिन रहेकी भोल्वीदेवीले १५ वर्षअघि उखम मोचीसित मागी विवाह गरेकी थिइन् । रामको पनि आर्थिक अवस्था निकै कमजोर थियो । ऐलानी जग्गामा परालले बेरिएको झुप्रो बोहक सम्पतिको नाममा अरु केही रहेपनि उखमले ज्याला मजदुरीको काम गरेर भोल्वीदेवीलाई खुसी नै राख्थ्यो ।
विवाह गरेको ४ वर्षपछि भोल्वीदेवीको परिवारमा एउटा नयाँ सदस्य थपियो । छोरा पाएसँगै भोल्वीदेवी र उखम ज्यादै हर्षित थिए । ‘त्यतिवेला दृष्टिविहिन भएरपनि संसार देखेको अनुभुति हुन्थ्यो, आफु आँखा नदेखेपनि छोराले देखेको कुरा आफुलाई सुनाउँछ र संसार कस्तो छ भनेर अनुभुति गराउँछ आशा थियो’ भोल्वीदेवीले भनिन्–‘तर, त्यो खुसीमा नराम्रोसँग ग्रहण लाग्यो, छोराको स्वास्थ्य जाँच गराउन जाँदा छोराले पनि आँखा देख्दैन् रे डाग्डरसाब (डाक्टरसाब) ले भन्नुभएको त्यो वाक्य अझैं याद छ ।’


सो खबरले एक पटक फेरी मेरालागि संसार अन्धकारमै भएको भोल्वीदेवीले सुनाईन् । ‘सो खबरले पति पनि कति आँशु बगायो त्यसको कुनै हिसाब छैन्’ उनले भनिन्–‘दिन, साता, महिना वित्ने क्रमसँगै दुःख विर्सिदै थिए, तर दैबले मेरो निधारमा शायद खुसी लेखेकै छैन्, त्यसको केही वर्षमै पति पनि वित्नु भयो ।’
दुःखको पनि सीमाना हुन्छ भन्छन् तर आफ्नो परिवेशमा दुःखको कुनै सिमाना थिएन, आफ्नो हरेक पाइलामा साथ र सहयोग गर्ने पतिको निधनपछि आफुहरुको जनजीवन थप कष्ठकर बनेको उनले बताइन् । ‘जिन्दगीमा न सन्तति भए, न त सहारा नै रह्यो, त्यतिवेला म ३–४ महिनाको गर्भवति पनि थिए’ उनले भनिन्–‘गर्भवति रहकै बेला साहारा दिने पति वितेपछि छरछिमेकीसँगै सहारा लिएर दोश्रो छोराको पनि जन्म दिए, तर हुर्काउने, बढाउने र पढाउने चिन्ता भने थपियो ।’
सो समस्यालाई लिएर चौतर्फी गुहार गर्दा त्यतिवेला समाजका केही भद्रभलामीहरुले सदरमुकाम राजविराजस्थित एक संस्थासँग कुरा गरेर जेठो दृष्टिविहिन छोरा दिनेशको बस्ने बन्दोवस्त मिलाइदिएको उनले बताइन् । ‘११ वर्षको जेठो छोरा १० वर्षदेखि राजविराजमै बस्छ’ उनले भनिन्–‘१० वर्षको कान्छो छोरा दिपक भने आफुसँगै रहने गरेपनि खानपान र लत्ताकपडाको बन्दोबस्त गर्न अत्यधिक कठिन हुने गरेको छ ।’
उहिलेदेखि मागेरै जीवन चलाउँदै आएपनि यतिवेलाको ठण्डीमा कत्तै जान नसक्दा आमाछोरालाई छाक टार्न कठिन भएको भोल्वीदेवीको दुखेसो छ । ‘यसअघि पनि माग्न जान नसक्दा कति रात भोकभोकै बस्नुपर्ने बाध्यता नखेपेको पनि होइन्, यतिवेलाको ठण्डीले चाहेर पनि माग्न जान सकिरहेको छैन्’ उनले भनिन्–‘जसका कारणले दुई सातादेखि एक छाक मात्रै खाएर दिन विताउन बाध्य छु ।’


जसरी त्यसरी दिपकलाई बोदे बरसाईनस्थित चन्द्रा उच्चमाध्यमिक विद्यालयमा नाम लेखाएपनि न्यानो कपडा नहुँदा दिपकलाई विद्यालय जान समेत समस्या हुने गरेको उनले बताइन् । ‘ढिलो गरेर छोराको नाम विद्यालयमा लेखाए, अहिले १० वर्षको उमेर भईसक्दा पनि दिपक कक्षा २ मै पढ्छ’ उनले थपिन्–‘त्यसमाथि कपडा र जुत्ता नहुँदा उ विद्यालय जान मान्दैनन्, फेरी उ विद्यालय गयो भने आफुलाई माग्न कसरी जाने भने पिरलो हुन्छ ।’ दिपकले हात समाएर आफुलाई सवैतिर लाने गरेको भन्दै उनले आफुहरुको जनजीवन सहज पार्नेतर्फ ध्यान दिनुहुन् सवैमा आग्रह समेत गरिन् ।