• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

क्रिकेट क्षेत्रको विकास गर्न सप्तरीमा प्रतिष्ठान स्थापना

क्रिकेट क्षेत्रको विकास गर्न सप्तरीमा प्रतिष्ठान स्थापना

राजविराज, १ माघ । समग्र क्रिकेट क्षेत्रको विकासकालागि सप्तरी जिल्लामा क्रिकेट विकास प्रतिष्ठान स्थापना गरिएको छ ।
पूर्व क्रिकेटर समेत रहेका समाजसेवी ईन्जिनियर ईन्द्रनारायण देवको नेतृत्वमा प्रतिष्ठानको स्थापना गरिएको हो । राजविराज–६ मा स्थापना गरिएको उक्त प्रतिष्ठानद्वारा मङ्गलवार आयोजित सरोकारवाला तथा जिल्ला विशिष्ठ व्यक्तिहरुसँगको अन्तरक्रियामा प्रतिष्ठानका अध्यक्ष देवले भावी योजनाबारे जानकारी गराएका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सहभागीहरुले सप्तरी जिल्लामा विगत चार दशकदेखि क्रिकेट खेलको विकास हुँदैआएको चर्चा गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडिहरु समेत उत्पादन भएको चर्चा गरे । क्रिकेटप्रति हाल बालबालिका तथा यूवा जमातका क्रेज अत्यधिक रहे पनि समुचित प्रशिक्षण, सुविधासम्पन्न खेल मैदान र उचित वातावरणको समेत अभाव रहेको भन्दै विद्यालयस्तरकाहरुलाई लक्षित गरी क्रिकेटको प्रशिक्षण हुनुपर्नेमा उनीहरुले जोड दिए ।
खेलाडिहरुलाई प्रोत्साहन गर्न प्रतियोगिताहरु आयोजना हुनुका साथै गाउँगाउँमा प्रतिभाहरु ओझेलमा रहेकोले त्यसको खोजी गरी अगाडि बढाउन प्रतिष्ठानले ठोस कदम चाल्न समेत सहभागी अतिथिहरुले प्रतिष्ठानसँग आग्रह गरे । जिल्लाको सदरमुकाम राजविराजमा देशकै अति पुरानो रङ्गशाला रहे पनि सरकारले वेवास्ता गर्दैआएको गुनासो गर्दै वक्ताहरुले राष्ट्रिय स्तरको प्रतियोगिताहरु आयोजना गर्नसक्ने क्षमता भएको क्रिकेट खेल मैदान निर्माण गर्नमा तदारुकता देखाउन समेत सहभागीहरुले प्रदेश र संघीय सरकारसँग आग्रह गरेका छन् ।


कार्यक्रममा नेपाल क्रिकेट संघका पूर्व उपाध्यक्ष एवम् राजविराज नगरपालिकाका पूर्व मेयर शैलेश चौधरी, वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजय कुमार झा, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, स्वेडेककी अध्यक्ष मीरा देव, गैरसकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, केशो अनिरुद्धवती माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद साह, पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक अरुण कुमार झा, दुर्गा माध्यमिक विद्यालयका प्रिन्सिपल चन्द्रशेखर देव, शिब्स इन्टरनेशन बोर्डिङ्ग स्कूलका प्रिन्सिपल नरेश प्रताप साह, नेपाल क्रिकेट संघ सप्तरीका अध्यक्ष आयुष श्रेष्ठ, वरिष्ठ खेलाडिहरु निरज सिंह, राजकुमार दास, यूवा नन्दकिशोर गुप्ता लगायतले आ–आफ्नो विचार व्यक्त गर्दै प्रतिष्ठानको सफलताको कामना गरे ।
कार्यक्रम समापनका अवसरमा प्रतिष्ठानका अध्यक्ष ई. ईन्द्रनारायण देवले क्रिकेट क्षेत्रको विकास तथा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरका खेलाडि तयार गर्ने आफुहरुको परिकल्पना रहेको भन्दै आगामी फागुन महिनाताका क्रिकेट प्रतियोगिताको आयोजना गरिने समेत प्रतिवद्धता व्यक्त गरे ।