• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

पत्रकार कुटपीटको पत्रकार महासंघद्वारा भत्र्सना, दोषीलाई कडा कार्वाहीको माग

पत्रकार कुटपीटको पत्रकार महासंघद्वारा भत्र्सना, दोषीलाई कडा कार्वाहीको माग

राजविराज, २२ पुस । जनकपुरधाम उप–महानगरपालिकाका प्रमुख लालकिशोर साहसँग उनकै कार्यालयमा समाचार प्रायोजनकालागि बाईट लिन गएका पत्रकारहरुमाथि भएको सामुहिक कुटपीटको नेपाल पत्रकार महासंघ प्रदेश नम्वर–२ प्रादेशिक समितिले भत्र्सना गरेको छ ।
प्रादेशिक समितिका महासचिव किरण कुमार कर्णले मङ्गलवारै प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार कुटपीट एवम् दुव्र्यवहारको कडा शब्दमा भत्र्सना गरेका हुन् । ‘नगर प्रहरी, आसेपासे, कर्मचारी र प्रत्यक्ष निर्देशनमा पत्रकारहरुमाथि सामुहिक कुटपिटको घोर भत्र्सना गर्दछौं’ प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ‘कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता अमरकान्त ठाकुर, एपी वनका व्यूरो प्रमुख विकास कुमार साह, संजय यादवका सहितका पत्रकारलाई तीन घण्टा कुराएर प्रतिक्रिया लिने क्रममा मिडिया आतंक मच्चाएको भन्दै कुटपीट गर्ने कार्य अत्यन्त लज्जास्पद र आपत्तिजनक विषय भएको हाम्रो ठहर छ ।’
सूचनाको हक, सम्बन्धित विषयमा प्रतिक्रिया दिन आलटाल गर्ने तथा पत्रकारलाई घण्टौं कुराएर कुटपिटको विषयमा समन्वयका लागि पुगेका नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र सहितका पत्रकारलाई पुनः संघातिक आक्रमण गराउनु निन्दनीय भएको जनाईएको छ । मेयरको प्रत्यक्ष निर्देशनमा गुण्डा प्रवृतिका व्यक्तिहरु लगाई उज्यालो नाईन्टी नेटवर्कका संवाददाता सुभाष कर्ण, देशसंचार डटकमका संवाददाता राजा झा, एबीसी टेलिभिजनका संवाददाता सुमित मिश्र र एपीवन टेलिभिजनका क्यामेरामेन सत्रुधन यादव समेतलाई कुटपिट गर्न लगाउनु शक्तिको दुरुपयोग तथा अहंकारी प्रवृतिलाई स्पष्ट गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
विगत केही दिनदेखि पत्रकारहरुले जानकी मन्दिरको फुलबारीको भित्ता भत्काएको विषयमा समाचार निरन्तर लेखेको र रकम चलखेलको आधारमा फूलवारीको जग्गा अतिक्रमण गरेको तथा नापी सर्वेक्षण टोलीले समेत जग्गा अतिक्रमण भएको ठहर गरिसकेको आरोप लाग्दै आएको विषयमा पत्रकारहरु प्रतिक्रिया लिन जाँदा आक्रमणमा उत्रिनु तथा मोबाईल, क्यामरा खोस्नु र कुटपिट गराउनु लज्यास्पद भएको जनाईएको छ । एबीसी टेलिभिजनका संवाददाता सुमित मिश्रको मोवाईल र क्यामेरा खोसी लाठी, हेल्मेट तथा मुक्का प्रयाग गर्दै नगर प्रमुखका कार्यकर्ताहरुले खोस्नु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको महासंघले ठहर गरेको छ ।
उक्त घटनाको निष्पक्षरुपमा छानविन गरी पत्रकारलाई दुव्र्यवहार गराउने र गर्नेहरुलाई कानूनी कारवाही गर्नका लागि सम्बन्धित निकायलाई यसै विज्ञप्ति मार्फत आग्रह गरिएको छ । यता नगर प्रमुख साहले पत्रकारहरु माथि गरेको कुटपीट सहितको दुव्र्यवहारले पुर्ण प्रेस स्वतन्त्रतामाथिको नांगो हस्तक्षेप र शासनसत्ताको नाङ्गो र भद्दा दम्भ प्रवृत्तिका शासकको उन्माद प्रष्ट देखिन्छ । विभिन्न सूचनाहरु लिखित र मौखिक रुपमा माग्दा समेत नदिने र उल्टै पत्रकारलाई दुश्मनको रुपमा लिनु नियतवश र गलत प्रवृतिको सुरुवात भएको महासंघ प्रादेशिक समितिको ठहर छ । पत्रकारहरुको जिउ धनको पूर्ण सुरक्षा, पूर्ण प्रेस स्वतन्त्रता ग्यारेन्टी नहुँदासम्म पत्रकारहरुले आफ्नो र आफ्नो सामाग्रीहरुको सुरक्षा गरी समुहगत रुपमा समाचार संकलन कार्यलाई निरन्तरता दिन समेत महासंघ प्रादेशिक समितिको तर्फबाट महासचिव कर्णले आग्रह गरेका छन् ।