राजविराज, २१ पुस । नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल गठबन्धनबाट राष्ट्रिय सभा सदस्यका उम्मेदवारहरुद्वारा सप्तरीमा सोमवार राजविराजमा परिचयात्मक सहित पत्रकार सम्मेलन आयोजना गरियो ।
दुवै पार्टीसँग आवद्ध जिल्लाका नगरपालिका तथा गाउँपालिकाका प्रमुख र उप–प्रमुखहरुका साथै पार्टी नेताहरुको उपस्थितिमा उम्मेदवारहरुले आफ्नो परिचयसहित प्रतिवद्धता व्यक्त गरेका हुन् । कार्यक्रममा राजपा नेपालका वरिष्ठ उपाध्यक्ष समेत रहेका राष्ट्रिय सभाका उम्मेदवार मृगेन्द्र कुमार सिंह यादवले आफु विद्यार्थी जिवनकालदेखि नै राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदैआएको बताए । मधेश र मधेशी जनताको हक अधिकारकालागि आफु प्रतिवद्ध रहेको भन्दै उनले गठबन्धनका उम्मेदवारहरुलाई अत्यधिक मतले विजयी बनाउन उनले आग्रह गरे । आफ्ना पिताजी समेत राजनीतिक तथा सामाजिक व्यक्ति भएकोले आफ्नो स्कूलिङ्ग नै राजनीतिबाटै भएको बताउँदै उम्मेदवार यादवले भने ‘पार्टीले विश्वास गरेर नै हामीहरुलाई उम्मेदवार बनाएकोले राष्ट्रिय सभाका मतदाताहरु सचेत रहेकोले मूल्याङ्कन हुने भन्ने कुरामा म विश्वस्त छु ।’
राष्ट्रिय जनता पार्टीका अर्का वरिष्ठ उपाध्यक्ष शेखर कुमार सिंहले राजनीतिमा स्थायी र शत्रु र मित्र नहुने भएकोले नेकपा र राजपा गठबन्धनले नयाँ परिवर्तनको सन्देश दिएको बताए । राजनीतिक क्षेत्रमा सक्रिय रहँदै मधेशी जनताको हक अधिकारकालागि आफु प्रतिवद्ध रहने बताउँदै उनले भने ‘यो गठबन्धनले संविधान संशोधन लगायत आमूल परिवर्तनको ढोका खोल्ने छ, त्यसैले यो गठबन्धनको जीत सुनिश्चित छ, यसकालागि सचेत मतदाताहरुको ठूलो भूमिका रहन्छ ।’
गठबन्धनका अर्का उम्मेदवार नेकपाकी तुलसा दाहालले आफु विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेको जानकारी गराउँदै महिला मुक्ति आन्दोलन, २०४६ साल, २०६२÷०६३ सालको आन्दोलनमा भूमिका निर्वाह गर्दै हाल पनि अखिल नेपाल महिला संघको केन्द्रिय सदस्य तथा पार्टीको प्रदेशको जिम्मेवारीमा रहेको बताईन् । संघर्षकै मैदानमा आफ्नो यूवा अवस्था बितेको जानकारी दिँदै राष्ट्रिय सभामा गएपछि झन सशक्त रुपमा जनताको आवाजलाई मुखरित गर्दै आमूल परिवर्तन ल्याउने उनले प्रतिवद्धता व्यक्त गरिन् । नेकपाका अर्का उम्मेदवार राधेश्याम पासवानले जनताको मुक्ति आन्दोलनको नेतृत्व गर्दैआएको नेकपा र राजपा गठबन्धनका उम्मेदवारहरुलाई मतदाताहरुले अत्यधिक मतकासाथ विजयी गराउनेमा आफु आशावादी रहेको बताए । 
नेकपाका स्थायी समिति सदस्य एवम् प्रदेश नम्वर २ का ईञ्चार्ज समेत रहेका प्रदेश सभा संसदीय दलका नेता सभासद् सत्यनारायण मण्डलले नेकपा र राजपा गठबन्धनबारे अनर्गल प्रचारबाजी भईरहेकोले त्यसता भ्रममा नपर्न आग्रह गरे । यस अघि नेकपासँग सहकार्य गर्ने दल समाजवादी पवित्र हुने तर राजपाले सहकार्य गर्दा कसरी अप्राकृतिक हुने प्रतिप्रश्न गर्दै उनले भने ‘नेकपा र राजपा दुवैले परिवर्तन चाहेको छ, यो शुरुवात मात्र हो, अझ थप सहकार्यहरु हुँदै जान्छ ।’
राजपाका महासचिव समेत रहेका प्रदेश सभाका आर्थिक समितिका सभापति मनिष कुमार सुमनले नेकपासँग राजपाको सहकार्यले केही पार्टीको होस उडेको भन्दै यो सहकार्यले राजनीतिमा नयाँ परिवर्तन ल्याउने बताए । दुबै पार्टीको गठबन्धन आफै मजबुत रहेको भन्दै उनले आफ्ना मतहरुको संरक्षण गर्दै थप मतकालागि आवश्यक गृहकार्य गर्नुपर्नेमा जोड दिए । प्रदेश सभा सदस्य गोबिन्द न्यौपानेले दुवै पार्टीले अत्यधिक मतकासाथ उम्मेदवार जिताउन मतदाताहरु समक्ष पुग्नुपर्नेमा जोड दिए ।
नेकपाका केन्द्रिय सदस्य एवम् जिल्ला अध्यक्ष अशोक कुमार मण्डल ‘अमर’को अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, प्रतिनिधी सभा सदस्य चन्द्रकान्त चौधरी, प्रदेश सभा सदस्यहरु विदेश्वर यादव ‘विक्की; रुबी कर्ण, प्रमिला यादव, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, पूर्व सांसद रञ्जु ठाकुर, अनेम संघकी केन्द्रिय सदस्य पार्वती राउत, महिला नेतृ आभासेतु सिंह, पूर्व शिक्षिका मञ्जु श्रेष्ठ लगायतका नेताहरुको उपस्थिति थियो । कार्यक्रममा स्वागत मन्तव्य दिपेन्द्र प्रसाद चौधरीले गरे भने सञ्चालन राजपाका राजेश्वर रायले गरे । 

राष्ट्रिय
नेकपा–राजपा गठबन्धनका उम्मेदवारद्वारा सप्तरीमा परिचयात्मक कार्यक्रम
चारै जना उम्मेदवारद्वारा अत्यधिक मतकासाथ जित्ने दावी