राजविराज, २० पुस । आगामी माघ ९ गते हुन लागेको राष्ट्रिय सभाको निर्वाचनकालागि प्रदेश नम्बर २ मा रिक्त चार सिटकालागि उम्मेदवारहरुले उम्मेदवारी दिएका छन् ।
नेकपा र राष्ट्रिय जनता पार्टी नेपाल तथा नेपाली काँग्रेस र समाजवादी पार्टीले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका हुन् । पार्टीको झण्डासहित र्यालीकासाथ जनकपुरधाम स्थित निर्वाचन आयोगको कार्यालयमा उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
काँग्रेस–समाजवादी गठबन्धनबाट काँग्रेसका नगिना यादव र भोला पञ्जियारले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी समाजवादी पार्टीबाट रामप्रित पासवान र अनिरुद्ध कुमार सिंहले उम्मेदवारी दिएका छन् । नेकपा र राजपा गठबन्धनको तर्फबाट नेकपाका तुलसा दाहाल र राधेश्याम पासवानले उम्मेदवारी दिएका छन् । राजपाबाट मृगेन्द्रसिंह यादव र शेखरसिंहको उम्मेदवारी परेको छ ।