राजविराज, १९ पुस । आगामी माघ ९ गते हुन लागेको राष्ट्रिय सभाको निर्वाचनकालागि राष्ट्रिय जनता पार्टी नेपालले सदस्य पदको उम्मेदवारको टुङ्गो लगाएको छ ।
काठमाण्डौको बबरमहल स्थित पार्टीको केन्द्रिय कार्यालयमा शनिवार अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोको अध्यक्षतामा बसेको बैठकले उम्मेदवारको टुङ्गो लगाएको हो । प्रदेश नम्वर २ बाट सप्तरी निवासी पार्टीका दुई वरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादव र शेखर कुमार सिंहको नाम चयन गरिएको संयोजक महतोद्वारा जारी प्रेस विज्ञप्तिमा जनाईएको छ ।
अन्य समूहबाट वरिष्ठ उपाध्यक्ष यादव र अल्पसङ्ख्यक÷अपाङ्गता भएका व्यक्तिको समूहबाट अर्का वरिष्ठ उपाध्यक्ष सिंहको नाम सर्वसम्मत चयन गरिएको छ । बोदेवर्साइन नगरपालिका निवासी यादव पूर्वमन्त्री हुन् । तिलाठी कोइलाडी गाउँपालिका निवासी सिंह राजनीतिक गतिविधिमा सक्रिय रहँदैआएका छन् ।
गत पुस २ गते राष्ट्रिय सभा निर्वाचनमा नेकपा र विपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) बीच गठबन्धन गरेर चुनावमा जाने सहमति भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई बुँदे सहमतिमा प्रदेश नम्बर २ मा ४ जना सदस्यका लागि हुने निर्वाचनमा २–२ सदस्य लिएर चुनावमा जाने सहमति भएको थियो ।
राष्ट्रिय जनता पार्टीका उम्मेदवारलाई नेकपाले सहयोग गर्ने छन् भने दलित पुरुष र महिला समूहका नेकपा उम्मेदवारलाई राजापाले सघाउने सहमति भएको थियो ।