राजविराज, १९ पुस । सप्तरीको एक निर्माण कम्पनीबाट घुस लिएको रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लहान स्थित सडक डिभिजन कार्यालय सिरहाका प्रमुख सहित तीन जनालाई पक्राउ गरेको छ ।
आयोगको टोलीले कार्यालय प्रमुख ई. विनोद साह ३ लाख, इन्जिनियर नविनकुमार साह र सब–इन्जिनियर विरेन्द्र कुमार साहलाई १५ लाख ९६ हजार रुपैयाँ घुससहित पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दीबासले जनाए अनुसार शुक्रबार राति उनीहरुलाई पक्राउ गरेको छ ।
सडक निर्माण सम्वन्धी काममा रकम माग गरिरहेको भनी आयोगमा परेको उजुरीका आधारमा उनीहरुmलाई रङ्गेहात पक्राउ गरिएको छ । लहानको एक होटलमा ई. नविन र विरेन्द्रसँग रकम लेनदेन भएको थियो भने सडक डिभिजन कार्यालयको निजी क्वाटरमा प्रमुख ई. विनोदलाई सोधखोज गर्नेक्रममा पक्राउ गरिएको जनाईएको छ । सप्तरीको रुपनीदेखि राजविराज हुँदै कुनौलीसम्मको सडकमा निर्माण कार्य सम्पन्न गरेपछि बाँकी भुक्तानीका क्रममा निर्माण कम्पनीसँग उनीहरुले कमिशन माग गरेका थिए । पक्राउ गरिएको तीनै जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अनुसन्धानकालागि बर्दिबास लगेको छ ।