• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान’

सप्तरीमा छोरी शिक्षा बिमा कार्यक्रम प्रभावित
‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान’

राजविराज, १७ पुस । प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान’ अन्तर्गतका ‘छोरी शिक्षा बिमा’ कार्यक्रम सप्तरीमा प्रभावित भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय जनकपुरधामले राजविराजमा विहिवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमबाट सो कुरा बाहिरिएको हो । कर्मचारी अभाव र प्रचारप्रसार हुनसक्दा ‘छोरी शिक्षा बिमा’ कार्यक्रम प्रभावित भएको अन्तरक्रियामा बताइएको छ ।
‘छोरी शिक्षा बिमा शिविर सप्ताह’ अन्तर्गत आयोजना गरिएको कार्यक्रममा जनाएअनुसार गत आर्थिक वर्षमा सप्तरी जिल्लामा जन्मिएकी ३ हजार भन्दाबढी छोरीहरुको शिक्षा बिमा हुनुपर्ने थियो । तर, कर्मचारी अभाव र प्रचारप्रसार गर्न नसक्दा सो आर्थिक वर्षमा सप्तरीमा एक हजार ९३ जना छोरीहरुको मात्र शिक्षा बिमा गर्न सकिएको जनाएको छ ।
बिमा कार्यक्रमको यकिन तथ्याङ्क नरहेपनि प्रदेश सरकारले गरेको आंकलनअनुसार सो आर्थिक वर्षमा प्रदेशभरि झण्डै ३० हजार छोरीहरु जन्मिएकी छिन् । सो तथ्याङ्क संकलन गर्न मुख्यमन्त्री कार्यालयबाट प्रदेश २ का प्रत्येक स्थानीय तहमा स्वयम्सेवककालागि गरिएको आवेदनमा समेत प्राविधिक गडबडी आएका कारण स्थगित गर्नु परेकोले तथ्याङ्क संकलन गर्न समस्या भएको जनाएको छ । ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान’ अन्तर्गत गत वर्ष माघ मसान्तदेखि ‘छोरी शिक्षा बिमा कार्यक्रम’ लागु भएको थियो ।
कार्यक्रममा वुद्धिजीवी विजयानन्द झा, वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेशकुमार झा, महासंघ सप्तरीका पूर्व अध्यक्ष धिरेन्द्रकुमार साह, समाजसेवी ईन्जिनियर सुर्यनारायण यादव, अधिकारकर्मी आभासेतु सिंह लगायतले ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान’ कार्यक्रमबारे टिप्पणी तथा सुझाव दिएका छन् ।
सोही कार्यक्रममा ‘छोरी शिक्षा बिमा’ कार्यक्रम अन्तर्गत स्वास्थ्य शिविर सञ्चालन गर्न सप्तरीको १८ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई ५०–५० हजार रुपैयाँको चेक समेत हस्तान्तरण गरिएको छ ।